ओलीको प्रतिगमन विरुद्ध थप संर्घषका कार्यक्रम आज घोषणा हुदैं

नेकपा स्थायी समिति सदस्यसँग मध्यान्ह १२ बजे छलफल, दिउँसो ३ बजे थप कार्यक्रम घोषणा गर्ने तयारीमा केन्द्रीय संर्घष समिति जुटेको छ

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, ०८ : ३४
ओलीको प्रतिगमन विरुद्ध थप संर्घषका कार्यक्रम आज घोषणा हुदैं

काठमाडौं । सरकारको असम्वैधानिक कदम र ओलीको निरंकुशताका विरुद्ध देशब्यापी आन्दोलनमा उत्रिएको नेकपाले आज थप संर्घषका कार्यक्रम घोषणा गर्दैछ ।

पहिलो चरणको कार्यक्रम अन्र्तगत काठमाडौं लगायत देशका ७७ ओटै जिल्लामा मंगलबार शक्ति प्रर्दशन गरिसकेको नेकपाले थप संर्घषका कार्यक्रम तय गर्न आज काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ ।

पेरिसडाँडास्थित पार्टीको जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा बस्ने उपलब्ध स्थायी समिति सदस्यहरुको बैठकले संर्घषका कार्यक्रम आयोजना गर्ने स्थायी समिति सदस्य तथा केन्द्रीय संर्घष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । 

आन्दोलनका कार्यक्रम तय गर्ने, आन्दोलन परिचालन गर्ने लगायतका काम गर्ने गरी नेकपाको केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय संर्घष समिति गठन गरेको थियो । त्यही संर्घष समितिको आयोजनामा अहिले स्थायी समितिका उपलब्ध नेताहरुसँग छलफल गरेर थप संर्घषका कार्यक्रम नेकपाले बनाउन लागेको हो । 

आज बिहान ११ बजे अखिल नेपाल महिला संघको बृहत भेला पनि पेरिसडाँडामा दुवै अध्यक्षको उपस्थितीमा हुने र १२ बजे स्थायी समिति सदस्यहरुसँगको छलफलका आधारमा आजै दिउँसो ३ बजे आन्दोलनका कार्यक्रम घोषणा गरिने नेता भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधीसभा विघटन गरेसँगै नेकपामा विभाजन आएको छ । ओलीले बालुवाटारमा वसेर अनेक तानाबाना बुनेर नेकपा आफुलाई बताईरहेका छन् । तर बहुमत केन्द्रीय सदस्य, बहुमत सांसद प्रचण्ड नेपाल समहुमा छन् ।  उनीहरुले ओलीको असम्वैधानिक, निरंकुश कदमका विरुद्ध देशब्यापी आन्दोलन सुरुआत गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस