आईसीसी महिला टि-20 विश्वकप छनोट : नेपालद्धारा चीन पराजित

आइतबार, १० मंसिर २०७४, १५ : ११
आईसीसी महिला टि-20 विश्वकप छनोट :  नेपालद्धारा चीन पराजित

 

 आइसिसी महिला टि–20 विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।
    
   थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो ।
    
   नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन ।  
    
   टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् ।
    
   बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको चीनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए । बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन/तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन् ।

 

प्रतिक्रिया दिनुहोस