प्रज्ञाश्री विमोचनसँगै प्राध्यापक सम्मान

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १२ : १२
प्रज्ञाश्री विमोचनसँगै प्राध्यापक सम्मान

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागद्वारा प्रकाशित प्रज्ञाश्री अङ्क ३ को एक समारोहका बीच क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल र अनुसन्धान समितिका निर्देशक प्रा.डा. सीताराम बहादुर थापाले संयुक्त रूपमा विमोचन गरेका छन् । 

मंगलबार विमोचन गरिएको उक्त जर्नलमा नेपाली भाषाका प्राध्यापकहरूका भाषा साहित्यसँग सम्बन्धित दशवटा अनुसन्धानमूलक लेखहरू समेटिएका छन् ।

कार्यक्रममा लामो समय वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागमा सेवा गरी सेवाबाट निवृत्त भएका चौधजना प्राध्यापकलाई सम्मान गरिएको थियो । 

सम्मानित हुनेहरूमा पूर्व क्याम्पस प्रमुख तथा विभागका सदस्य सहप्रा. विष्णुप्रसाद पौडेल (भूषण गुरु), पूर्व क्याम्पस प्रमुख तथा विभागीय प्रमुख प्रा.डा. गणेशप्रसाद खराल, पूर्व विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद खनाल, प्रा.डा. कुलप्रसाद ढुङ्गाना, प्रा. कपिलमणि शर्मा, सहप्रा. भागवतशरण न्यौपाने, सहप्रा. गायत्री श्रेष्ठ, सहप्रा. जगन्नाथ पण्डित, सहप्रा. टेकनारायण भुषाल, सहप्रा. मणिराम शर्मा, सहप्रा. दीननाथ पण्डित, सहप्रा. विष्णुप्रसाद सापकोटा, उपप्रा. दुर्गाप्रसाद अधिकारी तथा उपप्रा. होमनाथ सापकोटा ‘सिद्धार्थ’ छन् ।

नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. होमनाथ सापकोटाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन नेपाली विभागका सदस्य डा. एकनारायण पौडेल गरेका थिए । स्वागत मन्तव्य सहप्रा. भवनाथ सडौलाले दिए । 

विमोचित पत्रिकाको बारेमा सहप्रा. दामोदर रिजालले प्रकाश पारे । सम्मानित प्राध्यापकहरू सबैले ३–३ मिनेटमा नलम्बिने गरी आफ्ना अनुभूतिहरू सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस