संसद विघटन अवैधानिक : महामन्त्री सिंह

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १६ : ४२
संसद विघटन अवैधानिक : महामन्त्री सिंह

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद विघटन अवैधानिक भएको भन्दै संसद पुनस्र्थापनाको माग गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद विघटन गरिएको विषय अवैधानिक भएको बताउँदै तत्काल पुनस्र्थापना गर्न माग गरेका हुन् । उनले भने, ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनरस्थापना गर्नुपर्छ ।’

महामन्त्री सिंहले आगामि दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन ग¥यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्न । फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’

महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरे । उनले तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृषिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताए । 

पार्टीभित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भीर स्थिति सिर्जना भएको उनको टिप्पणी थियो । नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको उनले बताए । 

उनले भने, ‘देशमा राजावादीहरु सडकमा आइराखेका छन् । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्र भन्दै राजावादीहरुले सक्रियता बढाइरखेका छन् । गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेका छन् । यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ । यिनको बिचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरुको बिचको झगडा मात्रै होइन । यसले सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौं । अहिले त्यो प्रष्ट भएको छ ।’

प्रतिक्रिया दिनुहोस