संसद् विघटनपछि दलहरु सक्रिय, जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ११ : ०६
संसद् विघटनपछि दलहरु सक्रिय, जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमार्डौ । देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा फरक राजनीतिक विकसित घटनाक्रमको बारेमा छलफल गर्नका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।

जसपा नेपालले हिजै नै विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको सो कदमको प्रतिवादन गर्न पार्टी तथा सर्वसाधारणलाई आह्वान गरिसकेको छ । प्रधानमन्त्री अ‍ोलीले चालेको सो कदमको विरुद्ध संघर्ष गर्न के कस्तो रणनीति बनाउने विषयमा आज छलफल हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र विरोधी कार्य गरेको ठहर पार्टीले गरेको र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल हुने उनले बताए ।

काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु बैठकमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको कदमको विरोध गर्न नेकपा, काँग्रेस र जसपाले गठबन्धन बनाएको छ । त्यो गठबन्धनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । आज ४ बजे सो गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस