हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ पुस २०७७, ०७ : ३२
हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ ।  

कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् । पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् ।

लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम भएकै कारण न्येलु प्रथा विगतमा मौलाउन पाएको भए पनि केही वर्षयता लिमीबाट छोरी काठमाडौंँ र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थालेपछि यो प्रथा कम भएको स्थानीय फुर्बु तामाङले बताउनुभयो ।

लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाको सङ्ख्या अहिले १६ छ । लिमीमा १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या छ । यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर राख्नुपर्ने चलन छ । न्येलुु प्रथाका १६ जनालाई बाबुले व्यवस्था गरेको घरमा बस्दै आएका छन् तर बच्चाको बाबुले भने केही जिम्मेवारी नलिने चलन अनौठो नै छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस