नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०६ : ५१
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन । जसकारण कुन देशले उत्पादन गरेको भ्याक्सिन ल्याउने भन्ने अझै निर्णय हुन सकेको छैन । अहिलेसम्म विभिन्न देशले उत्पादन गरेको भ्याक्सिन ट्रायलका क्रममा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिन ल्याउन प्राथमिकताका आधारहरू तय गरिएका छन् । सरकारले सुरक्षित, लाइसेन्स प्राप्त, भौतिक संरचना, पूर्वाधारसँग मिल्ने र कम मूल्यलाई आधार मानेर भ्याक्सिन आयात गर्ने तयारी गरेको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालीन प्रयोगका लागि फाइजर भ्याक्सिनले स्वीकृति पाएको छ । अहिलेसम्म फाइजर भ्याक्सिनले मात्रै बेलायत, बहराइन र अमेरिकामा मात्रै आम मानिसमा प्रयोगका लागि सिफारिस भएको छ । फाइजरले बनाएको भ्याक्सिन माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकाले यसका लागि आवश्यक भण्डारण पूर्वाधार नेपालसँग नभएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजकसमेत रहेका खोप विज्ञ डा. श्यामराज उप्रेतीले बताए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस