कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष

पत्रपत्रिकाबाट

बुधबार, ०१ पुस २०७७, ०७ : १३
कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष

लन्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।

हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्‍याए । ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ पनि पस्किए ।

निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे । ‘कोदोको खिरका लागि त तयारी अगाडिदेखि नै गरेको थिएँ । तर निर्णायकको रोजाइमा खरायोको डिस तत्काल बनाउन दबाब नै थियो,’ साहले कान्तिपुरसँग भने, ‘निर्णायकहरु मेरो हरेक खानामा पृथक स्वाद देखेर आश्चर्यचकित हुन्थे । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको छु ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस