प्रधानमन्त्री ओलीले किन मागे प्रमुख सचेतक देव गुरुङको राजीनामा ?

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १४ : ४५
प्रधानमन्त्री ओलीले किन मागे प्रमुख सचेतक देव गुरुङको राजीनामा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद भुसको आगोजसरी सल्किरहेको अवस्थामा फेरि अर्को आगो सल्केको छ ।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का कार्यकारी अध्यक्ष प्रचण्ड निकटका नेता प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेपछि नेकपामा तरङ्ग छाएको छ । 

२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर तुरुन्त राजीनामा दिन भनेका थिए ।प्रधानमन्त्री ओलीले  प्रमुख सचेतकजस्तो भएर एक गुटमा लागेर सरकारविरुद्ध बोल्दै हिँड्ने, तपाइँले राजीनामा दिनुपर्छ भनेका थिए । 

प्रधानमन्त्री ओलीलाई गुरुङले आफूले राजीनामा नदिने जवाफ दिएका थिए । उनले भनेका थिए, ‘मेरो राजीनामाको विषय त पार्टीको निर्णय होइन, मैले किन राजीनामा दिने ?’ ओलीले आफूविरुद्ध गतिविधि किन गरेको ? भन्दै जवाफ मागेका थिए । गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाविक भएको बताए । गुरुङले कुनै हालतमा राजीनामा नदिने र पार्टीमा फेस गर्न तयार हुने जवाफ ओलीलाई दिएका थिए । 

प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेको खबर पाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड समूह रुष्ट भएका छन् ।  ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा छलफल गरेर हटाउन चुनौती दिएका थिए । 

प्रतिक्रिया दिनुहोस