काठमाडौं । मंसिर ११ मा शुक्रराज सरुवा रोग अस्पताल पुगेकी ५० वर्षीया महिलामा गम्भीर रूपमा कोभिड निमोनियाको लक्षण थियो। कोरोनासंग मिल्दाजुल्दा लक्षण देखेपछि चिकित्सकले पिसिआर परीक्षण गरे रिपोर्ट नेगेटिभ आयो। उनीसँग लक्षण कोरोना संक्रमणकै जटिलता जस्तो देखेपछि चिकित्सकले पुनः एन्टिजेन परीक्षण गरे। एन्टिजेन रिपोर्ट पनि नेगेटिभ आयो। दुवै रिपोर्ट नेगेटिभ आए पनि कोभिड मापदण्डअनुसार उनमा कोरोना संक्रमण नभएको प्रमाणित भयो। यस्तो स्थितिमा पनि उनलाई श्वास फेर्न गाह्रो भइरहेको थियो।
त्यसपछि अस्पतालका कोभिड उपचार संयोजक डा. अनुप बाँस्तोलाले कोरोना भइसकेको पत्ता लगाउने अर्को उपाय एन्टिबडी परीक्षण खोजे। यो परीक्षण भने पोजिटिभ आयो। उनमा कोरोना भइसकेको तर सक्रिय नदेखिएको बुझे। त्यसपछि उनको छातिको एक्सरे भयो। एक्सरेमा कोभिड निमानिया देखियो। यी दुई रिपोर्टको आधारमा उनलाई आइसियुमा राखेर उपचार गरे। आइसियुमा एक साता र कोभिड वार्डमा ८ दिनको उपचारपछि उनी डिस्चार्ज भइन्।
आइतबार पनि निमानिया पिसिआर नेगेटिभ भएका तर कोभिड निमोनिया भएका बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन्। अस्पतालमा कोरोना संक्रमण नेगेटिभ आए पनि कोरोना संक्रमणले जन्माएको निमोनिया लिएर जाने अन्य धेरै बिरामी छन् अस्पतालका अनुसार एक दर्जन यस्ता बिरामीको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ३ जनाको हाल आइसियुमा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार खोकी लाग्यो, सामान्य ज्वरो आयो या श्वासमा केही समस्या आयो या जिउ दुख्यो भने समयमै उपचारमा गएमा कोभिड निमोनियाको पहिचान र उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिमबाट बच्न सकिन्छ।
सशस्त्र प्रहरी बल अस्पतालमा कोभिड निमोनिया भएर उपचारमा पुग्दा एक महिनाअघि एक ६० वर्षीय महिलाको मृत्यु भइसकेको छ। उनी काठमाडौं उपत्यकाकै वासिन्दा हुन्। उनीसहित कोभिड निमोनियाको कारण दुई जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। हाल भर्ना भएकामध्ये ८ जना यस्ता बिरामी छन् जसको पिसिआर परीक्षण नेगेटिभ तर सिटिसक्यानमा निमोनिया देखिएको छ। कोभिड निमोनिया भएका बिरामीको लागि अस्पतालमा छुट्टै च्याम्बर छुट्टाएको अस्पतालका कोभिड १९ उपचार संयोजक डा. प्रवीण नेपालले बताए।
कोरोनाको पिसिआर नेगेटिभ देखिएका बिरामीले कोभिड वार्डमा सुरक्षित नठान्ने र आफुमा कोरोना नभएको सोच हुने हुनाले छुट्टै च्याम्बर राखेर उपचार गरेको डा। नेपालले बताए। ‘उनीहरूमा कोरोना संक्रमित हैनौं भन्ने सोच हुन्छ, मनोवैज्ञानिक उपचारको लागि पनि छुट्टै च्याम्बरमा राखेका छौं,’ उनले भने। पिसिआर नेगेटिभ देखिएको तर कोभिड निमोनिया भएर जटिलता झेलिरहेका बिरामीको लागि कोभिड भइसकेको पत्ता लगाउने तरिका छातिको एक्सरे, सिटिसक्यान तथा एन्टिबडी परीक्षण हो।
यीमध्ये पनि सिटिसक्यानबाट अन्य निमोनिया र कोभिड निमोनिया छुट्टाइने गरेको चिकित्सक बताउँछन्। वीर अस्पतालका कोभिड १९ फोकल पर्सन डा। अच्युत कार्कीका अनुसार कुनै बेला कोभिड भएकामा पुनः कोभिड भएमा पनि कोभिड निमोनिया देखिन सक्छ। डा. कार्कीैका अनुसार ९ दिनभित्र मुख र घाँटीको स्वावको पिसिआर परीक्षण हुँदा कोरोना संक्रमण पोजिटिभ देखिन सक्छ। यी दुवै अंगबाट ९ दिनपछि लिएको नमुनाबाट नेगेटिभ आउन सक्छ। यसबाहेक ब्रोङकोस्कोपीबाट पनि कोभिड १९ पोजिटिभ देखिन सक्छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ मंसिर २०७७, ०८ : ०१
लेखकबाट थप