ईरानमा सत्ताविरोधी पत्रकारलाई मृत्युदण्ड

एजेन्सी

आइतबार, २८ मंसिर २०७७, १२ : ४०
ईरानमा सत्ताविरोधी पत्रकारलाई मृत्युदण्ड

इरान । ईरानी पत्रकार रोहुल्लाह जामलाई मृत्युदण्ड दिइएको छ । सरकारी टेलिभिजन आईआरआईबीका अनुसार उनलाई शनिबार बिहान झुण्डाएर मृत्युदण्ड दिइएको हो ।

सत्ताविरोधी जामलाई ‘करप्सन अन अर्थ’ मा दोषी करार गरिएको थियो । यसमा उनको अपराध स्पष्ट गरिएको छैन तर ईरानको सरकारले यसलाई कथितरुपमा सत्तापलटको प्रयास गर्नेमाथि प्रयोग गर्ने गरेको छ ।

जामले अमाद न्यूज नामक अनलाइन वेबसाइट चलाउँथे । तेहरानले उनीमाथि सन् २०१७ र २०१८ को विरोध प्रदर्शनमा हिंसा भड्काएको आरोप लगाएको तसनिम न्यूज एजेन्सीले सन् २०१९ मा उल्लेख गरेको थियो ।

जाम फ्रान्समा बस्दै आएका थिए तर उनलाई सन् २०१९ को अक्टोबरमा ईरानी अधिकारीहरुले पक्राउ गरेको समाचार प्रकाशित भएको थियो । उनी कसरी र कहाँ पक्राउ परे भन्ने यकिन हुन सकेको छैन ।

फ्रेन्च अधिकारीहरुका अनुसार उनले ११ अक्टोबरमा फ्रान्स छाडेका थिए । त्यसको तीन दिनपछि इस्लामिक रिभुलुसनरी गार्ड कर्प्सले उनलाई पक्राउ गरिएको वक्तव्य जारी गरेको थियो।

उनको पक्राउको समाचारपछि इरानका अधिकारीहरुले उनको भिडियो जारी गरेको थियो । उक्त भिडियोमा उनले माफी मागेको जस्तो देखाइएको थियो  गत जुनमा उनलाई दोषी करार गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

रिपोर्टर्स विथआउट बोर्डर्सले मृत्युदण्डको भत्सर्ना गरेको छ । संस्थाले उनलाई अपहरण गरेर पक्राउ गरिएको र उनको सुनुवाइ निष्पक्ष ढंगले नभएको भन्दै उनको मृत्युदण्डको सजाय माफ गर्नुपर्ने माग गर्दै आएको थियो ।