नौ महिनापछि संचालनमा आयो मनकामना केबुलकार

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ११ : २६
नौ महिनापछि संचालनमा आयो मनकामना केबुलकार

चितवन । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि बन्द रहेको मनकामना केबुलकार आज आइतबारदेखि सञ्चालनमा आएको छ । 

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा विगतमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केबुलकार सञ्चालन गर्ने निर्णय गरेको थियो । 

मनकामना केबुलकार सञ्चालक राजेशबाबु श्रेष्ठले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत्र ८ गतेबाट मन्दिर र केबुलकार बन्द गरिएको र आज आइतबारबाट सञ्चालनमा आएको बताए । उनका अनुसार केबुलकार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ । केबुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।

विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा १ घण्टाकै अबधिमा १ हजार यात्रुले उक्त केबलबार चढेको मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । ‘कोरोनाका कारण लामो समदेखि बन्द रहेको केबलकार संचालनमा ल्याउँदा हामीले सोचेभन्दा बढी यात्रुहरु आउनुभएको छ,’ उनले भने, ‘केवलकार बन्द रहँदा मनकामना देवीको दर्शन गर्न जाने यात्रुहरु रोकिएकाले पनि अहिले केबलकार संचालनमा ल्याउँदा यात्रुहरुको भीड लागेको हो ।’

श्रेष्ठका अनुसार कोरोनाका कारण केबलकारमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने व्यवस्था आदी मिलाईएको छ ।

कोरोना पछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालनमा ल्याइने छ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत संचालक श्रेष्ठले जानकारी दिए । तर बलीका लागि पशु ढुवानीको व्यवस्था भने अस्थायी रुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस