सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १४ : २४
सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

file photo

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कायम गरिएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । 

 मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न  स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो । 

अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।  

आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने  नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।