लन्डन । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।
मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो ।
बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।
विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताउनु भएको छ ।
बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।
बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ । (रासस–एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ मंसिर २०७७, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ