चीनको असहयोगले उत्तरी नाका अझै असहज

पत्रपत्रिकाबाट

मंगलबार, २३ मंसिर २०७७, ०७ : ५९
चीनको असहयोगले उत्तरी नाका अझै असहज

काठमाडौं । रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य भएका छन् ।

चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा नेपाली व्यवसायीहरू भारतको बाटो भएर दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका हुन् ।

सामान आयातमा असहज भएको मात्र होइन, लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्नसमेत पाएका छैनन् । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष राजनकुमार जमकट्टेल व्यापारीहरू सामान अर्डरका लागि चीन जान नपाएको बताउँछन् ।

‘हामीले व्यापारीलाई जाने व्यवस्था मिलाउन नेपालस्थित चिनियाँ दूतावासलाई अनुरोध गर्दै आएका छौं,’ कट्टेलले भने । उनका अनुसार चीनले अहिले आफ्नो मुलुकको वर्किङ अनुमति भएका, चिनियाँ नागरिकसँग विवाह गरेका वा कुनै प्रतिष्ठित कम्पनीको लिखित अनुरोधमा मात्र नेपालीलाई भिसा दिने गरेको छ ।

त्यसका लागि पनि एक महिनाअघि निवेदन दिनुपर्छ । पछिल्लो समय नेपाली व्यवसायीहरूले आफैं चीन गएर अर्डर गर्ने र सामान छुटाउने गर्दै आएका थिए । चीन जान सहज प्रवेश नपाएपछि पोहोर अर्डर गरेका सामान यो वर्ष पनि भित्र्याउन पाएका छैनन् । यसबाट व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपरेको मात्र छैन, सामान ढिला आउँदा बिक्री नहुने समस्या पनि भोग्नुपरेको छ । कान्तिपुरमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस