राजावादीको प्रदर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

पत्रपत्रिकाबाट

आइतबार, २१ मंसिर २०७७, १२ : ४०
राजावादीको प्रदर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

काठमाडौं । काठमाडौंमा राजनीतिक प्रदर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै विशेष सूचना जारी गरेको छ।  

दूतावासले शुक्रबार जारी गरेको सूचनामा शनिबार काठमाडौंको माइतीघर मण्डलामा ठूलो विरोध प्रदर्शन कार्यक्रम रहेकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।  

यस्तै आगामी हप्ताको अन्त्यमा काठमाडौंलगायत नेपालका विभिन्न भागमा हुने राजनीतिक विरोध र प्रदर्शनका कार्यक्रमबाट जोगिन अमेरिकी नागरिक र संघ÷संस्थाका प्रतिनिधिलाई निवासमै रहन दूतावासले अनुरोध गरेको छ।

अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ– ‘ठूलो भीड वा विररोध कार्यक्रमका कारण कतै फसियो भने जतिसक्दो छिटो त्यहाँबाट निस्किन तथा नसकिने अवस्था छ भने नजिकैका सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिइन्छ।’

दूतावासले विशेषगरी काठमाडौं र ललितपुर जिल्लाको उत्तरी भेगमा सावधान रहन भनेको छ। यसैगरी कुनै शंकास्पद वस्तु फेला परे तत्काल नेपाल प्रहरीलाई सूचना दिन अनुरोध गर्दै दूतावासले नेपालका अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यम हेर्न, सुन्न र पढ्न पनि अनुरोध गरेको छ।  

खासगरी केही दिनयता काठमाडौंलगायत देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरिरहेका छन्। आज पनि राजावादीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। (नागरिक नागरिक)

प्रतिक्रिया दिनुहोस