भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्था अन्त्य : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १३ : ४०
भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्था अन्त्य : परराष्ट्रमन्त्री ज्ञवाली

file photo

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका हुन् । 

मन्त्री ज्ञवालीले विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तीमा समेत उल्लेख गरिएको बताए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको उनको भनाइ छ । यसबाट नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको पनि मन्त्री ज्ञवालीले बताए । 

उनले व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए । सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

दुवै मुलुका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको मन्त्री ज्ञवालीले बताए । नेपाल–भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढिसकिएको मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस