मदन भण्डारी पार्क बनाउने नाममा बस्ती हटाउने हल्लाले साततलेवासी आक्रोशित

प्रकाश सिग्देल

मंगलबार, ०९ मंसिर २०७७, १४ : ५९
मदन भण्डारी पार्क बनाउने नाममा बस्ती हटाउने हल्लाले साततलेवासी आक्रोशित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले गरेका कामप्रति सर्वसाधारण नागरिकहरुले सन्तोष गर्ने अवस्था देखिएको छैन । जुन उत्साह र उमंगले नेकपालाई निर्वाचनमा जिताएर पठाइयो, त्यो उत्साह तीनै तहको सरकार संचालनमा रहेकाहरुले दिलाउन नसकेको मतदाताहरु बताउँछन् । 
चितवनको भरतपुर महानगरपालिका २९, साततलेका स्थानीयहरुले आफूहरुकोे समस्या समाधानमा वर्तमान सरकारको तल्लो निकाय वडा पनि सकारात्मक नहुँदा आफूहरु निकै मारमा परेको बताए ।

दासढुंगा मदन आश्रित पार्क मुल सडकदेखि करिब १०० मिटर माथि रहेको यो बस्तीका स्थानीयहरुले आफूहरुलाई नेकपा सरकारले बस्ती उठाउने भनेर त्रास सृजना गरेको बताउँछन् । आफूहरुको बस्तीसम्म जानका लागि बाटो समेत नभएको र स्थानीय आफैले पहल गरेर बाटो बनाउन खोज्दा पनि बाटो बनाउन नदिएको उनीहरुको भनाई छ । 

यस क्षेत्रमा मदन भण्डारी फाउन्डेसनका नाममा मदन आश्रित पार्क निमार्णका लागि बिगौंबिगाहा जमिन मदन भण्डारी फाउन्डेसनका नाममा रहेको र त्यही पार्क बनाउने भनेर आफूहरुलाई यो बस्तीबाट हटाउने चेतावनी दिइएको स्थानीय कर्णबहादुर गुरुङको भनाई छ ।

यहाँ सात घर विगत धेरै बर्ष पहिलेदेखि बसेको र अहिलेसम्म बाटोको प्रबन्ध नभएको, खानेपानीको पनि समस्या रहेको स्थानीय पूर्णबहादुर गुरुङले बताए । यहाँका स्थानीयहरु यहाँबाट कुनै पनि हालतमा नहट्ने बताउँछन् । 

भरतपुर महानगर २९ नम्बर वडाका काँग्रेस सभापति भरत गुरुङले नेपाली काँग्रेसले कुनै पनि हालतमा यो बस्ती उठाउन नदिने बताए । गत स्थानीय तहको निर्वाचनमा २९ नम्बर वडाको अध्यक्ष पदका उम्मेदवार क्याप्टेन श्रीबहादुर गुरुङले विगतमा पनि यहाँबाट बस्ती उठाउन लाग्दा आफूहरुले कुनै पनि हालतमा बस्ती उठाउन नदिने भनेर रोकेको र अब पनि पार्कका नाममा बस्ती बिस्थापित हुन नदिने बताए । 

पटकपटक स्थानीयलाई बस्ती हटाउने भनेर त्रास सृजना गरिएकोले काँग्रेसले कुनै पनि हालतमा यहाँबाट बस्ती हट्न नदिने गुरुङ बताउँछन् । गत चुनावमा २९ नम्बर वडामा एमालेका उमेदवार बिजयी भएका थिए । राजमार्गदेखि माथिको पहरोमा रहेको भिरालो जमिनमा स्थानीयहरुले ब्यवस्थित रुपमा घर बनाएर बसेका छन् ।

धमाधम काँग्रेसमा प्रवेश गर्दै स्थानीय

साततले र आसपासका क्षेत्रका २५ जनाभन्दा बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस प्रदेश २ क का सभापति टंकनाथ पौडेलले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

चुनाव जितेर गएपछि वडाका प्रतिनिधि र यहाँको नेतृत्वले आफूहरुको समस्या समाधानमा चासो नदिएपछि आफूहरु काँग्रेस पार्टीमा प्रवेश गरेको स्थानीयहरु बताउँछन् । युवादेखि वृद्धवृद्धा समेत पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा स्थानीय आमा समूहलाई पौडेलले साउण्डसिस्टम सहयोग गरेका थिए भने साततले बस्तीसम्म जानका लागि मोटर बाटो बनाउँदा लाग्ने आवश्यक रकम प्रदेशका तर्फबाट उपलब्ध गराउने वचन दिएका थिए । काँग्रेसले नागरिकको हरेक समस्यामा हातेमालो गर्ने पौडेलको भनाई थियो । 

कार्यक्रममा तरुण दलका जिल्ला सभापति राजन ताम्राकार, विद्यार्थी नेता बच्चन कार्की लगायतले अब काँग्रेसले बालक, युवादेखि वृद्धसम्मलाई प्रशिक्षण दिँदै पार्टी हरेक नागरिकको मनमस्तिष्कमा बस्न सक्ने गरी गतिविधि सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए । आफूहरुले २९ नम्बर वडामा अब संगठन बिस्तारलाई तिब्रताका साथ अगाडि बढाउने काँग्रेसका २९ नम्बर वडा सभापति भरत गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस