चितवन निकुञ्जमा वन्यजन्तु आक्रमण : २४ वर्षमा २१२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १७ : २०
चितवन निकुञ्जमा वन्यजन्तु आक्रमण : २४ वर्षमा २१२ जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको जानकारी दिए । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो । श्रीमती भागेर बाँच्न सफल भइन् । 

चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको सूचना अधिकारी लोकन्द्र अधिकारी बताउँछन् ।  तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो । 

निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो २४ वर्षमा २१२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०५३ र ५४ देखि हालसम्म २१२ जनाको मृत्यु भएको चितवन निकुञ्जको भनाइ छ ।पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट ३६ जनाको निधन भएको छ । आव २०७४ र ७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७५ र ७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२० घाइते भएका थिए । त्यस्तै आव २०७६ र ७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्खया ३४ रहेको सूचना अधिकारीले जानकारी दिए ।  चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उनले बताए ।

पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब रु छ करोड राहत प्रदान गरिएको छ । आव २०७४ र ७५ देखि आव २०७६ र ७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप रु पाँच करोड ९० लाख ९६ हजार ६४४ प्रदान गरेको छ । 

निकुञ्जले आव २०७४ र ७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत रु २२ लाख २४ हजार ४५० पीडित परिवारलाई उपलब्ध गराइएको उनको भनाइ छ ।

जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले रु १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारीले बताए । आव २०७५ र ७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप रु दुई करोड २० लाख उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत रु एक करोड ११ लाख ९५ हजार ५१६ प्रदान गरिएको छ । 

elephant-jungali-hatti-wild-elephantअघिल्लो आव २०७५ र ७६ मा भन्दा गत आव २०७६ र ७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको छ । गत आव २०७६ र ७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई रु ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत रु छ लाख ७६ हजार ६७८ प्रदान गरिएको उनको भनाइ छ । निकुञ्जले आर्थिक वर्ष ०५३ र ५४ यता वन्यजन्तुको आक्रमणमा परेकालाई राहत दिन थालेको हो । 

प्रतिक्रिया दिनुहोस