अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

एजेन्सी

शुक्रबार, ०५ मंसिर २०७७, १४ : ५९
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उहाँ शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गर्नुभएको हो ।  

उहाँले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुनुुहुने जनाइएको छ ।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ बर्ष ३४९ दिनका हुनुहुन्थ्यो । अहिलेसम्म उहाँलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिदै आएको थियो ।  

उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार बर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ । 

उमेरको हिसाबले बाइडेन बृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उहाँ रहेको र उहाँको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् । 

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकी कमला ह्यारिस भने उहाँभन्दा झण्डै २० बर्ष कान्छी हुनुहुन्छ । 

बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उहाँले उम्मेदवारी नदिने संभावना रहेको छ । 

उहाँ यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति हुनुहुन्थ्यो । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर हुनुभएको थियो । उहाँ सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिनु भएको थियो । तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उहाँ पछाडी पर्नु भएको थियो । 

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्य अन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उहाँलाई पटक पटक पारिवारिक शोक परेको थियो । उहाँकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । 

सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क सम्वन्धी समस्याका कारण मृत्यु भएको थियो । उहाँका चार सन्तान हुन ।

उहाँले उच्च शिक्षा अन्तर्गत कानुन अध्ययन गर्नु भएको थियो भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा चिनिनुहुन्छ ।   (रासस/एपी)