दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

एजेन्सी

शुक्रबार, ०५ मंसिर २०७७, १२ : ४५
दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

नयाँ दिल्ली । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । 

पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागी हुन पाउने गरी नियम लगाइएको हो । भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड—१९ को तेस्रो लहर चलेको छ । 

दिल्लीमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए ।

दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरुमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ छ । सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । वैवाहिक समारोहमा यसअघि २ सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० जनासम्म मात्र सहभागी हुन पाउने बनाइएको छ । 

पछिल्लो दुई हप्तामा दिल्लीमा १ हजार २०२ जनाको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस