नेकपामा सचिवालय बैठकलाई लिएर किन बढ्दैछ बखेडा ?

बुधबार, ०३ मंसिर २०७७, ०७ : २६
नेकपामा सचिवालय बैठकलाई लिएर किन बढ्दैछ बखेडा ?

काठमाडौँ । दुई अध्यक्षलाई मिलाउन बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार आफ्ना निकटस्थहरूलाई सुनाए, ‘उहाँहरू दुवै जना हतारोमा हुनुहुन्छ, परिस्थिति जटिल छ ।’  त्यसपछि महासचिवसहित बसेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दियो । ओलीको चाहना पनि तत्कालका लागि बैठक रोकौं नै भन्ने हो ।

महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । भेटमा उनले दाहालले गत सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने र बुधबारका लागि तय भएको सचिवालय बैठक रोकेर दुई अध्यक्षले छलफल चलाउनुपर्ने ओलीको प्रस्ताव सुनाए । दाहालले बैठक तोकिएकै समयमा बस्ने र सबै निर्णय बैठकबाटै हुने जवाफ दिएपछि महासचिव पौडेलसहित ओलीनिकट नेताहरू परामर्शमा जुटे । उक्त छलफलमा ओलीनिकट नेताहरूले यही परिस्थितिमा बैठक बस्न नसकिने निचोड निकालेका छन् ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्षद्वयबीच देखिएको संवादहीनताका कारण तत्काल सचिवालय बैठक बोलाउने स्थिति नभएकाले केही दिनका लागि स्थगित गर्न सुझाव दिएको जानकारी दिए । ‘भोलि बैठक बस्ने स्थिति बनाउनुभएको छ भने त केही भएन तर तपाईंहरूको छलफलको स्थिति हेर्दा तयार छ जस्तो लाग्दैन,’ ओलीलाई दिएको सुझाव उद्धृत गर्दै नेम्वाङले कान्तिपुरसँग भने, ‘यस्तोमा बैठक बस्दा झन् विवाद चर्किएला, त्यसैले स्थिति चर्काउनभन्दा कुलडाउन हुन दिनु राम्रो हो । आवश्यक समय लिनुपर्छ, भोलिको बैठक स्थगित गर्नुस्, केही समय लिएर आवश्यक छलफल गरी ल यसो गरौं भनेर टुंगोमा पुग्नुबाहेक अर्को विकल्प छैन भनिएको छ ।’ दुवै अध्यक्षले सरसल्लाह गर्ने जानकारी दिएको नेम्वाङले बताए ।

तर खुमलटार स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष दाहाल मंगलबार साँझसम्म सचिवालय बैठक रोक्न नसकिने निचोडमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा लामो छलफल गरेर फर्किएपछि उनले आफूनिकट नेताहरूलाई सचिवालय बैठक नरोक्ने ब्रिफिङ गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले मिलेर जानुपर्ने भन्दै छलफल र सहमतिका लागि केही समय बैठक रोकेर संवाद चलाउन आग्रह गरेकी थिइन् । ‘राष्ट्रपतिज्यूले दुई अध्यक्ष मिल्नु नै अहिलेको उत्तम उपाय हो भन्नुभएको रहेछ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर अध्यक्षले बुधबारको बैठक नरोकिने जवाफ दिनुभएको रहेछ, त्यसपछिको परिस्थिति कस्तो हुन्छ, भोलिको बैठकले नै निर्धारण गर्छ ।’

ओली र उनीपक्षीय नेताहरू यही अवस्थामा बैठकमा सहभागी नहुने निचोडमा पुगिरहेका बेला हरहालतमा बैठक नरोक्ने दाहालको मनस्थितिले पार्टीभित्रको विवादलाई अर्को जटिल परिस्थितिमा धकेल्ने सम्भावना छ । प्रधानमन्त्री ओलीलाई भने उनीनिकट नेताहरूले बरु शक्ति सन्तुलनका लागि आफूहरू भूमिका खेल्न तयार रहेको भन्दै दाहालसँग संवादको वातावरण बनाउन जोड दिएका छन् ।

त्यसका लागि दाहालले भनेझैं गरेर ओलीबाहेक सबै मन्त्री परिवर्तन गर्ने, अरू राजनीतिक नियुक्तिमा दाहाल र नेपालनिकटलाई स्थान दिने र प्रदेश सरकार पनि आवश्यकताका आधारमा परिवर्तन गर्ने विकल्पमा छलफल चलाउने तयारीमा ओलीपक्षीय नेताहरू छन् । यही पृष्ठभूमिमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आवश्यक परे आफूहरू मन्त्री पद छोड्न तयार रहेको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस