‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै

रासस

शुक्रबार, २८ कार्तिक २०७७, २० : ५०
‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ । सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । 

उहाँका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ । ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उहाँले बताउनुभयो ।

अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ । 

सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस