बयासी वर्षपछि मनाइयो उद्योग दिवस

शनिबार, ०९ मंसिर २०७४, २१ : ५९

भरतपुर । चितवनमा विभिन्न कार्यक्रम गर्दै शनिबार उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय भरतपुर र चितवन उद्योग संघको आयोजनामा औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्रको बिस्तार तथा औद्योगिक क्षेत्रको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राजनीतिक अस्थिरताले नेपालका उद्योगहरु धरासायी बन्दै गएको भन्दै अब स्थिर सरकार आवश्यक रहेको औँल्याउनु भयो । उहाँले २०२० सालमा औद्योगिक विकास भएतापनि अहिले उद्योगहरु धराशायी र उद्योगीहरु पलायन हुँदै गएको बताउनु भयो । 


उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजन गौतमले देशमा दिनानुदिन वैदेशिक हस्तक्षेप बढेकाले पनि स्वदेशी उद्योग चेपुवामा परेको बताउनु भयो । चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कंडेलले खोला नजिकका बाँझो जमिनमा औद्योगिक क्षेत्रको स्थापना गर्न सकिने बताउनु भयो ।


कार्यक्रममा भरतपुर  महानगरपालिका उद्योग विकास शाखाका प्रमुख होमप्रसाद घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उद्योग दिवस १९९२ साल मंसिर ९ गते पहिलोपटक र यसवर्ष दोस्रोपटक मनाइएको हो । कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस