‘कोरोना निको भएपछि पनि स्वास्थ्यमा समस्या देखिइरह्यो’

पत्रपत्रिकाबाट

विहीबार, २७ कार्तिक २०७७, ०७ : ५४
‘कोरोना निको भएपछि पनि स्वास्थ्यमा समस्या देखिइरह्यो’

काठमाडौं । कोरोना संक्रमण हुँदा नआत्तिएकी काठमाडौंकी २४ वर्षीया एक युवतीको मन आजभोलि पिरोलिरहन्छ । एक महिनाअघि उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । घाँटी खसखस गर्ने, टाउको दुख्नेबाहेक उनमा अन्य कुनै गम्भीर लक्षण थिएन । 

१४ दिनपछि संक्रमणमुक्त भइन्, काममा फर्किइन् । अहिले फेरि स्वास्थ्यमा समस्या देखिन थालेपछि बिदा लिएर घरमै बसिरहेकी छन् । ‘अलिकति हिँडेपछि पिँडुला फर्किन्छ । मुटुको ढुकढुकी पनि बढिरहन्छ,’ उनले भनिन्,‘‘मान्छेहरू सामान्यभन्दा तीन गुणा धेरै ठूलो देख्छु, कोरोनाले मेरो दिमागमै असर गर्‍यो जस्तो लाग्छ ।’

धेरै दिनसम्म यस्तो समस्या देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । रगतको जाँच, छातीको एक्सरे गर्दा कुनै समस्या देखिएन । ‘रिपोर्टमा केही देखिँदैन, शरीरलाई कुनै पल सन्चो अनुभव छैन,’ उनले चिन्ता जनाइन् ।

वीर अस्पतालका ३८ वर्षीय एक स्वास्थ्यकर्मी एक महिनाअघि कोरोना संक्रमित भए, कुनै लक्षण देखिएन । १४ दिन आइसोलेसन बसे तर दोस्रो रिपोर्टमा पनि पोजिटिभ आयो । २१ दिनपछि उनी काममा फर्किए तर पहिले जस्तो सक्रिय हुन सकिरहेका छैनन् । ‘पहिले म अस्पतालको चार तला २० पटकसम्म लतमाथि गरिरहन्थें, केही हुन्थेनँ ।

अहिले अस्पतालको एक तला चढ्नेबित्तिकै धेरै थाक्छु,’ उनले भने,‘‘राति निद्राबाट बिउँझिएँ भने आफ्नै हातखुट्टा हात्तीको पञ्जाभन्दा ठूला देखेर तर्सिन्छु ।’ राति बिउँझिनुपर्ला र आफैंलाई देखेर डराउनुपर्ला भने उनी निद्राको औषधि खाएर सुत्ने गरेको बताए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना निको भए पनि मानिसहरू विभिन्न समस्या भयो भन्दै अस्पताल पुगिरहेका छन् । यस्ता समस्या भोग्नेमा दीर्घरोगी र वृद्धवृद्धाभन्दा पनि युवा वर्गको संख्या बढिरहेको उनले बताए । ‘भाइरसमुक्त भएपछि पनि संक्रमित भएकाहरूमा शारीरिक र मानसिक समस्या आइरहेको विदेशी अध्ययनले पनि देखाएको छ ।

हाम्रोमा भने कतिलाई यस्तो भइरहेको र किन भन्ने अध्ययन गरिएको छैन,’ उनले भने, ‘ओपीडीमा आएका बिरामीको अवस्था मात्रै बुझ्दा कोरोना निको भएकालाई छाती, मुटु, मिर्गौला र अन्यका अंगमा पनि केही असर गरेको देखिएको छ ।’ कान्तिपुरमा खबर छ ।