डिसेम्बरको अन्त्यसम्म कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास

एजेन्सी

बुधबार, २६ कार्तिक २०७७, १४ : २३
डिसेम्बरको अन्त्यसम्म कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास

एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समुहका व्यक्तीहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् । ‘यसअघि अमेरिकी औषधी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । फाइजरले अब अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) बाट स्विकृति लिने प्रक्रिया चाडैं अघि बढाइने जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अन्त्यको प्रयासलाई तिव्रता दिन फास्ट ट्रयाकबाट भ्याक्सिनलाई स्विकृति दिइने यसअघि नै बताएका थिए, अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ४० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ करोडभन्दा धेरै संक्रमित भइसकेका छन् । 

सन् १९८४ देखि एलर्जी र संक्रामक रोग सम्बन्धी राष्ट्रिय इन्स्टिच्युटका निर्देशक रहिआएका फाउची ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत हुन् । भ्याक्सिनले स्विकृती पाएसँगै आफु यसको डोज लिने घोषणा उनले गरेका छन् । फाउचीका अनुसार परिवारका सदस्यहरुलाई पनि स्विकृति पाइसकेपछि भ्याक्सिन लगाउन उनले सल्लाह दिएका छन् । ‘म फाइजरलाई विश्वास गर्छुु । म एफडिएलाई विश्वास गर्छु । त्यहाँ मेरा दशकौंदेखिका वैज्ञानिक साथीभाई छन्,’ उनले भनेका छन् ।

कोरोना भाइरसले ग्रस्त अमेरिकामा सचेतना र सतर्कताका लागि फाउचीले गरेका प्रयासहरुको ट्रम्प समर्थकहरुले यदाकदा विरोध पनि गर्ने गरेका छन् । यसअघि फ््लोरिडामा भएको ट्रम्पको चुनावी ¥यालीमा  फाउचीलाई बर्खास्त गर्नुपर्ने  माग उठेको थियो । समर्थकहरुको आवाज सुनेपछि आफ्नो भाषणका क्रममा ट्रम्पले यसका लागि केही प्रतिक्षा गर्न आग्रह गरेका थिए । संविधानत ट्रम्पले सोझै फाउचीलाई बर्खास्त गर्न सक्दैनन् किनकी उनी राष्ट्रपतिले नियुक्त गरेका व्यक्ति होइनन् । तर, उनले फाउचीका बर्खास्तीका लागि आफ्नो प्रशासनका अन्य व्यक्तिलाई दबाब दिनसक्छन् । 

निर्वाचनमा जो बाइडेनसँग पराजित भएसँगै ट्रम्पले आफुसँग फरक मत राख्नेहरुलाई बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढाइसकेका छन् । ‘फाउची राम्रो मानिस हुन् । यद्यपी, उनी धेरै काममा गलत देखिएका छन्,’ २ नोभेम्बरमा ट्रम्पले समर्थकहरुसामुु भनेका थिए । यता, भर्खरै राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन भने कोरोना भाइरस नियन्त्रणका लागि फाउचीको सल्लाह मानेर अघि बढ्नुपर्ने बताउँछन् ।। ‘फाउचीजस्ता विज्ञहरुलाई सुन्ने राष्ट्रपति देशलाई चाहिएको छ,’ यसअघि बाइडेनले ट्वीट गरेका थिए ।