गण्डकीमा १६६ सङ्क्रमित थपिए, एकको मृत्यु

रासस

मंगलबार, २५ कार्तिक २०७७, २० : ३१
गण्डकीमा १६६ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका—९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ । 

प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ४४४ पुगेको छ । 

 सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण 
अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा पोखराबाट सञ्चालित २५ वटा अनलाइन सञ्चारमाध्यमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बाबजुद सञ्चारकर्मीहरू अग्रपङ्क्तिमा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी स्वास्थ्य समाग्री वितरण गरिएको संघका अध्यक्ष ढाकामोहन(गणेश) बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति सञ्चारमाध्यम १०० वटा सर्जिकल माक्स, १० वटा एन ९५ माक्स र सेनिटाइजर उपलब्ध गराइएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा सङ्घलाई प्राप्त ९१ हजार रुपैयाँबाट ती स्वास्थ्य सामग्री खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना प्रभावित सबै क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार नीतिगत रुपमा अघि बढिरहेको बताउनुभयो । कोरोना नियन्त्रणभन्दा बाहिर गएको विद्यमान अवस्थामा आफैँ सुरक्षित रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कोरोनालाई व्यावहारिक ढङ्गले नियन्त्रणमा लैजानुपर्ने उल्लेख गर्नुभयो । 

प्रदेश सरकारले केही समय अघि सूचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा बढाइने मन्त्री गुरुङले बताउनुभयो । सो अवसरमा उहाँले सङ्घको आधिकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि  सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार सङ्घ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, सङ्घका कोषाध्यक्ष सुनिल पाण्डेलगायतले कोरोना महामारी र सञ्चारकर्मीले भोगेका समस्याका बारेमा बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस