पदासीन राष्ट्रपतिलाई ३ दशकपछि हराउने पहिलो उम्मेदवार बन्दै बाइडेन

पत्रपत्रिकाबाट

शनिबार, २२ कार्तिक २०७७, ०७ : ४७
पदासीन राष्ट्रपतिलाई ३ दशकपछि हराउने पहिलो उम्मेदवार बन्दै बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६  औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन् ।

जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए । उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।

बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ । यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन् ।

यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन । उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए ।

अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए । प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन् ।कान्तिपुमा खबर छ।