नेपाल भ्रमणसँगै के सन्देश बोकेर फर्किदैछन् भारतीय सेनाध्यक्ष नरभणे ?

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, ०९ : ०६
नेपाल भ्रमणसँगै के सन्देश बोकेर फर्किदैछन् भारतीय सेनाध्यक्ष नरभणे ?

काठमाडौं । नेपाल मामिलामा विवादास्पद अभिब्यक्ति दिएर निक्कै आलोचित बनेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणे अहिले नेपालमा छन् । उनी अहिले माउन्टेन फ्लाइट चार्टरमा घुम्दैछन् । त्यसपछि उनले शिवपुरीस्थित सैनिक केन्द्र गई त्यहाँको अवलोकन गर्ने कार्यक्रम छ ।

तीन दिने भ्रमणमा काठमाडौं आएका उनले आज दिउँसो प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर त्यत्तैबाट दिल्ली फर्कन एयरपोर्ट जाने कार्यक्रम रहेको सैनिक स्रोतले बताएको छ । उनलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेका थिए । लगत्तै नरभणेले राष्ट्रपति भण्डारीसँग औपचारिक सम्वाद गरेका थिए ।नेपाल र भारतका बीचमा रहेको तिक्त्त सम्बन्ध सुधारको प्रयासका लागि ओली आफैंले पहल गरिरहेका बेला विवादकै बीच सरकारले नरभणेलाई काठमाडौंमा न्यानो स्वागत गरेको हो ।

ओली अहिले सम्बन्ध राजनीतिक र कुटनीतिक तहमा नभएपनि विवादास्पद खुफिया एजेन्सी ‘रअ’ तिर नै फर्काएर भएपनि सम्बन्ध बढाउन हत्तारिरहेका छन् । त्यही क्रममा उनले एक साता अगाडी मात्रै ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई आफैले निम्तो गरेर बालुवाटारमा मध्यरातसम्म वार्ता गरेका थिए ।  नेपालमा ओलीको यो कदमको निक्कै आलोचना भएपछि र उनको राष्ट्रवादको जामा खुस्किएपछि बालुवाटारले सामान्तको भ्रमण भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा भएको भन्दै बचाउमा लागेको छ ।

तर भारतले यस बारेमा कुनै टिप्पणी गरेको छैन् । गोयल मोदीका विशेष दुतका रुपमा नेपाल आएका पनि थिएनन् । तर यो भ्रमणलाई बचाउ गर्न नेपाल सरकारका प्रतिनिधीहरुले विशेष दूतको भ्रमण भनेर लाज छोप्न खोजेको थियो । गोयल भ्रमण पछि अर्का सैनिक अधिकारीलाई नेपालले स्वागत गरेको हो ।

नरभणेले मानार्थ महारथीबाट सुशोभित हुन नेपाल आएको बताए पनि उनले राष्ट्रपति भण्डारीसँग गरेको भेटमा राष्ट्रपतिले दुई देश बीचको सम्बन्ध सुधारको सन्देश बोकर जान आग्रह गरेबाट नै ओली पक्ष राजनीतिक तहमा भन्दा पनि सैनिक र गुप्तचरी संन्यत्रबाट भारतसँगको सम्वाद बढाउन चाहिरहेको छ ।नरभणेले आज दिउँसो प्रधानमन्त्रीसँग गर्ने सम्वादलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । नरभणे काठमाडौं आउनु अगाडी उनले भारतीय प्रधानमन्त्री मोदीलाई भेट गरेर आएको कारण पनि उनले मोदीका केही सन्देश बोकेर आएको हुनसक्ने अनुमान गरिएको छ ।

तर उनले कुनै सन्देश नल्याएको भएपनि ओलीले भने नरभणेमार्फत मोदी समक्ष आफ्नो सन्देश पठाउने तयारी गरिरहेको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारीले दुई देशबीच औपचारिक सम्बन्ध बढाउन आग्रह सहितको सन्देश लैजान गरेको आग्रह पछि आज नरभणे र प्रधानमन्त्री ओली बीच भेटवार्ता हुन लागेको हो । यो भेटवार्ता र त्यसपछि ओलीले नरभणेमार्फत पठाउने सन्देश पछि भने दुई देशका राजनीतिक अधिकारीहरुका बीचमा सम्वादको थालनी हुन सक्ने अनुमान गरिएको छ ।

नरभणेको भ्रमण पछि भारतले नेपालमा गृहमन्त्री अमित शाह या रक्षामन्त्री राजनाथ सिंह मध्ये एकलाई नेपाल पठाउने सम्भावना हुन सक्ने पनि अनुमान लगाउन थालिएको छ । सिंहले लिपुलेक, लिम्पियाधुर र कालापानी क्षेत्रको विषयमा विवादास्पद अभिब्यक्ति दिएका कारण अमित शाहलाई नै नेपाल पठाउन सक्ने अनुमान समेत अहिले गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस