अवस्था थप खराब भए यो वर्ष अर्थतन्त्र ऋणात्मक

पत्रपत्रिकाबाट

शुक्रबार, २१ कार्तिक २०७७, ०७ : ३६
अवस्था थप खराब भए यो वर्ष अर्थतन्त्र ऋणात्मक

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आर्थिक क्षेत्रमा हालको अवस्थाभन्दा थप खराब अवस्था आए चालु वर्षमा आर्थिक वृद्धि माइनस (ऋणात्मक) हुने निश्चित रहेको सरकारी अध्ययनले देखाएको छ । योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार परिस्थिति हालको अवस्थाभन्दा खराब भए आर्थिक वृद्धि ३ प्रतिशतसम्म ऋणात्मक हुने निश्चित छ । 

केन्द्रीय तथ्यांक विभागका अनुसार विगतका कुनै वर्ष नेपालको आर्थिक वृद्धि न्यून हुन पुगे पनि ऋणात्मक भने भएको छैन । कोरोना संक्रमण कम गर्न चैत ११ देखि गरिएको लकडाउनले गत आर्थिक वर्षको आर्थिक वृद्धि ऋणात्मक हुने अनुमान थियो । तर असारमा गरिएको खुकुलोपनाका कारण ऋणात्मक भने नहुने आयोगको अध्ययन र अन्य दातृ निकायले अनुमान गरिसकेका छन् । 

यसबारे विश्लेषण गरी आधिकारिक आँकडा भने केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखमा मात्रै सार्वजनिक गर्नेछ । चालु आर्थिक वर्षमा भने यस्तो सुविधाजनक अवस्था नरहेको विज्ञहरूसहितको परामर्शमा आयोगले बनाएको अध्ययन प्रतिवेदनको मस्यौदामा उल्लेख छ । प्रतिवेदनले हालको अवस्था कायम रहे, सुधार हुँदा र थप खराब अवस्था सिर्जना भए तीन परिदृश्यको अनुमान गरेको छ ।

‘साउन मध्यसम्मको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो,’ प्रतिवेदन बनाउन संलग्न आयोगका एक अधिकारीले भने, ‘त्यसपछिका धेरै तथ्यांकका आधारमा विश्लेषण गरी केही दिनमै उक्त प्रतिवेदन सार्वजनिक गर्दै छौं ।’ अन्तिम प्रतिवेदनमा पहिले गरिएका केही अनुमान परिमार्जन भएका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस