भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै, यस्तो छ उनको ‘तीन दिने कार्यतालिका’

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ०८ : ५६
भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै, यस्तो छ उनको ‘तीन दिने कार्यतालिका’

काठमाडौं । नेपालबारे विवादास्पद अभिब्यक्ती दिदै आएका भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपालले स्वागत गर्दैछ । तीनदिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज काठमाडौं आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म भारतले एकतर्फी सडक सन्जाल निर्माण गर्ने र उसको प्रशासनिक तथा राजनीतिक नक्सामा उक्त भूमि समेट्ने काम गरेपछि नेपालले जनाएको कडा आपत्तिमा नरवणेले नेपालले कसैको इसारामा त्यस्तो विरोध जनाएको भन्दै आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।

राजनीतिक तहमा भन्दा सेनाको तहबाट उनले दिएको अभिब्यक्ति अस्वभाविक र आपत्तिजनक थियो । यसको त्यसबेलै देशभक्त नेपालीहरुले विरोध जनाएका थिए । भारतले गरेको अतिक्रमणको विरोधमा नेपालले पनि आफ्नो नक्सा संसोधन गर्दै संविधानमै अनुसूचिमा समेट्ने गरी संविधान संसोधन नै गरेपछि दुई देशबीच सम्बन्धमा झन दरार पैदा गरेको थियो । पछिल्लो समय बोलीमा राष्ट्रवाद र ब्यवहारमा आत्मसर्मपणवादको नीति लिदै आएका प्रधानमन्त्री ओलीले अहिले भारतका सुरक्षा अधिकारीहरुलाई नेपाल भित्रयाएर रातो कार्पेट ओछ्याउन खोजेका छन् ।

गत साता मात्रै उनले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखलाई बालुवाटारमा निम्तो गरेर न्यायो स्वागत गरेका थिए भने अहिले सेनाध्यक्ष नरवणेलाई स्वागत गर्न हत्तारिएका हुन् । यी दुवै पात्र नेपालको हित विपरित विवादास्पद अभिब्यक्ती र क्रियाकलापमा संलग्न पात्र हुन् । उनीहरुलाई स्वागत गर्न हत्तारिएको नेपाल सरकारले राजनीतिक तथा कुटनीतिक सम्बन्धवाट आफ्नो भूमिबाट भारतीय सेना हटाउने र भूमि फिर्ता ल्याउने विषयमा छलफल गर्नुको साटो सैनिक अधिकारीहरुलाई स्वागत गरेर त्यहाँको खुफिया एजेन्सीहरुमै निर्भर भएर राजनीति गर्न खोजेको संकेत दिएका छन् । 

विवादास्पद अभिब्यक्ती दिएका सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा सहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको सेनाले बनाएको छ । नेपाल आएपछि नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेपनि उनलाई बस्ने ब्यवस्थापन मिलाईएको होटल सोल्टीमा प्रवेश गरेपछि उनले साँझ पशुपति दर्शनमा जाने गरी कार्यक्रम तय गरिएको छ ।  भोलि बिहान टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति उनले सम्मान अर्पण गर्नेछन् भने त्यसपछि जंगी अड्डामा आएर निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा उनले छलफल गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छोटो भेटघाटको कार्यक्रम पनि रहेको सेनाले जनाएको छ । उक्त भेटघाट सकेपछि नरवणेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम तय भएको छ । एउटा फिल्ड अस्पताल बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेसँगै उनको बिहिबारको कार्यक्रम सकिने छ ।

त्यसपछि भने नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट गर्नेछन् । बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नेछिन् । उनको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम पनि यही नै हो । त्यसलगत्तै उनले राष्ट्रपति भण्डारीसँग सितल निवासमै भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

सितल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले जंगी अड्डामा रात्रिभोजको आयोजना गर्नेछन् । त्यसपछि फेरि उनी आफ्नो बासस्थान सोल्टी होटेलतिर लाग्नेछन् । शुक्रबार बिहान उनले आर्मी कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्नेछन् । उक्त सम्बोधन सकेर लैनचौरस्थित भारतीय दुतावास जाने उनको कार्यक्रम छ । त्यहाँ उनले केही भेटघाट गरेपछि दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीलाई भेटेपछि उनी सोही दिन भारत फर्कने छन् ।

विरोधको तयारी
नेपाल विरुद्धमा विवादास्पद अभिब्यक्ति दिएकाले पनि उनको नेपाल भ्रमणका बेला केही राष्ट्रवादी नेपालीहरुले भने विरोध गर्ने तयारी समेत गरेका छन् । उनको आवागमन देखि नर्फकदा सम्म उनको भ्रमणमा विरोध गर्ने तयारी केही राजनीतिक दल, संघसस्थाले गरेका छन् ।

उनको भ्रमणमा कुनै विरोधका कार्यक्रम हुन नदिन र कालो झण्डा प्रर्दशन हुन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गरेर सुरक्षा निकायका चारै तहका अधिकारी परिचालन सरकारले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस