काठमाडौं । कोभिड– १९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयाँै पर्यटकीय होटल तथा लज बन्द भएको हो ।
चिसोयाम बढेसंँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले केही महिनाका लागि होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिनुभयो । रोग नियन्त्रणका लागि पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका सबै होटल तथा लज बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् ।
जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेशनमा छन् । जिल्लामा कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०७७, २० : ५०
लेखकबाट थप