नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १७ : ३९
नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडको ३६ वर्षको इतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत् संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको ५३.१४ प्रतिशत र भर्चुअल मार्फत् जुम एपबाट १५.०१ प्रतिशत गरी ६८.१५ प्रतिशत सेयरहोल्डरको सहभागिता रहेको थियो ।

उपस्थित सेयर होल्डरहरूबीच दूरी कायमका साथै अन्य स्वास्थ्यका मापदण्डसमेत पालना गरी आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसँग आबद्ध सबैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा सेयर होल्डरको समेत कोभिड- १९ बिमा गर्ने घोषणा गरे ।

त्यस्तै प्रस्तावित पूँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र सेयर धनीहरुले उठाएको मागबमोजिम एउटा कोष गठन गरी सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए ।

त्यस्तै उच्चस्तरीय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो सेवा, लाइभ अपडेट रिपोर्टिङ र उत्पादकत्वमा वृद्धि पुर्‍याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए ।  

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस