स्थानीय तहसँगको समन्वयमा क्षतिग्रस्त बस्तीको व्यवस्थापन

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १३ : २०
स्थानीय तहसँगको समन्वयमा क्षतिग्रस्त बस्तीको व्यवस्थापन

फाइल फोटो

काठमाडौँ । बाढी, पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कार्यविधि तयार पारिएको बताए । कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ । 

स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताए । पुनस्र्थापनमा पछि जीविकोपार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उनले बताए । 

बाढी पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दिर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्ने छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणा अनुसार घर तथा सम्पत्तिको बीमा  गर्ने लगायतका औजारहरुको प्रयोग गरिने छ ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछाम लगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तीनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि उनले बताए । प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाउने पोखरेलले बताए । 

प्राधिकरणले बाढी, पहिरो, आगलागी, भूकम्प लगायतबाट हुने विपदको व्यवस्थापनका लागि वृहत कार्यविधि तयार गरी काम गर्न लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस