दाहालसँग विवाद बढेपछि प्रधानमन्त्री ओलीले नेता नेपाल सामु राखे सहकार्यको प्रस्ताव

पत्रपत्रिकाबाट

बुधबार, ०५ कार्तिक २०७७, ०७ : ४६
दाहालसँग विवाद बढेपछि प्रधानमन्त्री ओलीले नेता नेपाल सामु राखे सहकार्यको प्रस्ताव

काठमाडौँ । स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । दाहालसँग मतभेद बढिरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेट गरेका हुन् ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । उनले छलफलको विषयवस्तुबारे आफूलाई जानकारी नभएको बताए । तर, बालुवाटार निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका हुन् । दाहाल निवास खुमलटार धाउनभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव नेता नेपाललाई गरेको स्रोतको भनाइ छ । नेता नेपाल निकट नेताहरूका अनुसार मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव भने नआएको बताइएको छ । ओली र नेपालबीच झन्डै सवा दुई घण्टा भेटवार्ता भएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा ओली र नेपाल समूह एक ठाउँ भएका थिए । पछि दाहाल र नेपाल समूहबीच सहमति भएपछि कर्णालीको राजनीतिमा नयाँ मोड आएको थियो ।मंगलबारसम्म कर्णाली विवाद टुंगिएको छैन, बरु विवाद बढेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा विवाद समाधानबारे दुवैका तर्फबाट परस्पर विरोधी भनाइ सार्वजनिक भएका छन् ।

पछिल्लो पटक नेकपाभित्रको शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँ देखिएपछि ओली र नेपालबीच दूरी बढेको थियो । ७९ दिनको विवादपछि भदौ २६ मा स्थायी कमिटी बैठक सकिँदा ओली र दाहालबीच सहकार्य भएको थियो । त्यसबेला नेता नेपालले १५ बुँदे असन्तुष्टि राखेका थिए । पछिल्लो मन्त्रिपरिषद् हेरफेर र राजनीतिक नियुक्तिहरू मापदण्डविपरीत भएको भन्दै नेता नेपालको असन्तुष्टि छ । यसअघि गत साउन ९ मा प्रधानमन्त्री ओली र नेता नेपालबीच एक्लाएक्लै छलफल भएको थियो । त्यतिबेला महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए ओलीसँग सहकार्य गर्न सकिने प्रस्तावमा नेता नेपालले छलफल गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस