दसैँमा चिल्लो कम खान पोषणविद्को सल्लाह

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १५ : ११
दसैँमा चिल्लो कम खान पोषणविद्को सल्लाह

सांकेतिक तस्विर

काठमाडौँ । कोरोना भाइरसको संक्रमण हुने जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिएकी छन् । 

दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताइन् । खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ । 

कोभिड १९ संक्रमणसँग लडन पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उनले आग्रह गरिन् । मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गरिन् । तर गुलियो पेयपदार्थ, मिठाई नखाँदा राम्रो गर्ने उनको भनाई छ । 

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभई रोग समेत लाग्न सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताइन् । 

मोटोपन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनिको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनले बताइन् । दशैंका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिक रुपमा गर्न उनले सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस