CG Landmark

‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि...

रासस

आइतबार, ०२ कार्तिक २०७७, २० : ४६
‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि...

काठमाडौँ । मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित  दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरुले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो ।

महिलाहरु दिनभरी घरदेखि मेलापातको काम गर्ने तर पुरुषाहरु जुवा खेल्ने र राति मादक पदार्थ सेवन गरी घरमा झगडा गर्ने गरेका कारण उक्त वडामा जहिल्यै विवादका घटना भइरहन्थे । यस गाउँका युवादेखि वृद्धसम्मले भैसीको दुध बेचेर मदिरा पिउने एक प्रकारले संस्कार नै बनिसकेको थियो । घरको सबै काम श्रीमतीले गर्नुपर्ने र श्रीमान्ले बसेर खानुपर्छ भन्ने गलत मानसिकताका कारण यहाँका महिलाहरु वर्षौदेखि पीडित बन्दै आएका थिए ।

Yeti Diistillery Tansen Cement box

मदिराकै कारण वडाभरीका नागरिक असुरक्षित हुन थालेको गुनासोपछि  नगरप्रमुख मञ्जु मलासीको पहलमा जिल्ला प्रहरी कार्यालय, डोटीले कलेना गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरेपछि अहिले शान्ति छाएको स्थानीयबासी इन्द्रबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिराका कारण कतिपयका घरबार बिग्रिए, कतिपयको त ज्यानै गइसक्यो, बल्ल अहिले प्रहरी चौकी राखियो, अब शान्तिसँग बस्न पाइने भइयो ।” जिल्ला सदरमुकाम सिलगढीबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको कलेना गाउँ विकासका हिसाबले पछाडि मानिन्छ ।

विशेषतः कलेना गाउँ र त्यहाँका मानिसहरुले सिलगढीमा दुध बेच्ने र सोही दुधबाट आएको पैंसाले मदिरा सेवन गर्ने र झगडा गर्ने ठाउँका रुपमा लामो समयदेखि आलोचित बन्दै आएको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीय हरिष धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरबाट शुद्ध भैसीको दुध, दही, घिउलगायत अन्य पोषिलो वस्तु बेचेर र फर्कँदा सिलगढीमा कमसल खालको (ठेउका) मदिरा खाने गाउँका रुपमा कलेनाका नागरिक चिनिँदै आएका थिए ।

नवस्थापित प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख मलासीले अमृत बेचेर जहर किनेर खाने कलेनाबासीको प्रवृत्तिको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा भएको अमृत बेचेर जहर खाने प्रवृत्तिको अन्त्यका लागि प्रहरी चौकी स्थापना गरेका छौँ, अब जहर बेच्ने र खानेलाई कारवाही हुन्छ ।” 

नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायको सहयोगमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “कलेनामा मदिराले ठूलो समस्या भएको खबर पाएर हामीले प्रहरी चौकी खडा गरेका छौँ, अब शान्ति हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले महिला र बालिबालिका लगायत गाउँका अन्य नागरिकलाई शान्तिसुरक्षामा समस्या भएमा जतिबेला पनि उजुरी गर्न सकिने जनाउनुभयो ।  उहाँले भन्नुभयो, “यो गाउँमा महिलाका पीडा सुन्दा आँखा रसाउने खालका रहेछन्, प्रहरी चौकी स्थापना भएपछि अब पनि मदिरा पिएर आतङ्क गरिए छोडिन्न । कानुनी कारवाही गरिन्छ ।” 

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा हाललााई सात जनाको टोली खटाइएको छ । नगरपालिकाले विसं.२०७४ भादौ ७ गतेबाट कलेनालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि मदिरा कारोबार भने रोकिएको थिएन ।
छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कार गरेको आरोपमा जिल्लामा एक बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिप्रशाद जोशीका अनुसार १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्लाको बडिकेदार गाउँपालिका–१ चिम्चेका ३७ वर्षीय खेमसिंह बोहरा पक्राउ परेका हुन् । 

संयोजक ऐरलाई सङ्क्रमण
जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरसहित उहाँका  परिवारका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संयोजक ऐरसँगै उहाँकी श्रीमती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेकपा केन्द्रीय सदस्य तथा पूर्व सभासद गौरी ओली र छोरामा कोरोना सङ्क्रमण देखिएको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ ।