CG Landmark

गुणस्तर नपुगेका सेनिटाइजर कम्पनीमाथि कडाइ, २० कम्पनीलाई कारबाही गर्दै विभाग

पत्रपत्रिकाबाट

शनिबार, ०१ कार्तिक २०७७, ०८ : ०१
गुणस्तर नपुगेका सेनिटाइजर कम्पनीमाथि कडाइ, २० कम्पनीलाई कारबाही गर्दै विभाग

काठमाडौँ । औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

‘मापदण्डभित्र नरहेका सेनिटाइजर कम्पनीलाई कारबाही गर्दै छौं,’ ढकालले भने, ‘यस विषयमा अहिले अनुसन्धान हुँदै छ । अहिले जानकारी माग्ने, प्रमाण र सूचना खोज्दै छौं ।’ अहिले २० वटा सेनिटाइजर कम्पनी हेरिरहेका छौं । अरू कम्पनीका विषयमा उत्पादन ल्याबमा टेस्ट गर्ने काम भइरहेको उनले जानकारी दिए ।

Yeti Diistillery Tansen Cement box

‘कस्मेटिक, स्वास्थ्य सामग्री र साबुन उत्पादन गरिरहेका उद्योगले पनि सेनिटाइजर बनाएर बेचिरहेका छन्,’ उनले भने, ‘त्यसैले मापदण्डभित्र रहेर गुणस्तरीय सेनिटाइजर उत्पादनका लागि छ महिनाको समय दिएका थियौं । तर उनीहरूले त्यो समयभित्र गुणस्तरयुक्त सेनिटाइजर बनाएनन् ।’

विभागले तोकेको मापदण्ड इथानोलबाहेकका अन्य रसायन प्रयोग गरेको पाइएकाले कारबाही गरिएको उनले जानकारी दिए । मापदण्डभित्रमा रहेका सेनिटाइजर उद्योगलाई उत्पादनका लागि अगाडि बडाइरहेको ढकालले बताए । ‘विभागले ७०–८० प्रतिशतको अल्कोहल बेस इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजरलाई मान्यता दिएको हो,’ उनले भने, ‘यसका अन्य सूत्र पनि छन् । त्यो पूरा गर्नुपर्छ ।’

यी मापदण्ड पूरा गरेका सेनिटाइजर बजारमा बिक्री गर्न पाइन्छ । कोभिड–१९ संक्रमण चुलिएसँगै यति बेला ह्यान्ड स्यानिटाइजरको माग बढेको छ । माग बढेसँगै बजारमा कम गुणस्तर र मापदण्ड बाहिरका सेनिटाइजर खुला रूपमा बिक्री भइरहेको पाइन्छ । गुणस्तरहीन र मापदण्डबाहिरका ह्यान्ड सेनिटाइजरलाई विभागले बिक्रीवितरणमा रोक लगाएको छ ।

यसैबीच विभागले ४० वटा नयाँ कम्पनीलाई सेनिटाइजर उत्पादनको स्वीकृति दिइसकेको छ । विभागले २०७६ चैत ९ देखि २०७७ असोज २२ सम्म सेनिटाइजर उत्पादन गर्न इच्छुक स्वदेशी उद्योगलाई स्वीकृति दिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।