चितवनमा कोरोना संक्रमितका ग्राफ कसरी उक्लिरहेको छ ? (हेर्नुहोस् विवरण)

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १७ : ५२
चितवनमा कोरोना संक्रमितका ग्राफ कसरी उक्लिरहेको छ ? (हेर्नुहोस् विवरण)

चितवन । चितवनमा कोरोना संक्रमितको ग्राफ सबैलाई झस्काउने गरी बढिरहेको छ ।  काठमाडौँपछि संक्रमितको संख्या उच्च रुपमा बढ्ने जिल्लामध्ये चितवन पनि एक हो । ७८ औँ जिल्लाको रुपमा चिनिएको चितवन देशकै मध्येभागमा पर्छ । 

चिकित्सकहरु देशभरका मानिसहरुको आवतजावत हुने जिल्ला हो चितवन । जसका कारण यहाँ संक्रमणको जोखिम सदैव हुन्छ । पूर्वपश्चिमबाट काठमाडौँ पोखरा जाने मिडप्वाइन्ट चितवन भएका कारण पनि यहाँ मानिसहरुको ओहोरदोहोर बढी हुने गर्छ । चितवनमा पछिल्लो समय कोरोना संक्रमण दर बढ्नुमा यहाँका चिकित्सकहरु मेडिकल सिटीको रुपमा विस्तार हुनुलाई पनि मानेका छन् । 

‘चितवन मेडिकल सिटीको रुपमा विकास भइरहेको छ, पश्चिम या पूर्व तराईका विभिन्न जिल्लामा यहाँ उपचार गर्न आउँछन्, त्यसकारण चितवन संक्रमणको उच्च जोखिममा रहेको छ, यहाँ कोरोना संक्रमण बढ्दै जानुमा मेडिकल सिटी पनि एउटा कारण हो’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘अहिले चितवनमा कोभिड आइसियू कक्ष भरिभराउ छन्, लक्षणसहितको कोरोना संक्रमितको संख्या बढिरहेको छ ।’

हालसम्म ३९ जना चितवनवासीको कोरोनाका कारण मृत्यु भइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् । संक्रमितको संख्या जिल्लामा ३१ सय २ पुगेको छ । जसमा १८ सय ७७ पुरुष छन् । चितवनको सबैभन्दा जोखिमयुक्त स्थानीय तहमा भरतपुर महानगरपालिका पर्छ । भरतपुर महानगरमा कोरोना संक्रमण भएका २५ जनाको निधन भइसकेको छ ।  

‘चितवनका सात स्थानीय तहले कोरोना नियन्त्रणको लागि जोखिम मोलेर काम गरेका थिए, कामको सिलसिलामा यहाँका स्थानीय तहका प्रमुख नै कोरोना संक्रमण भएका थिए’ प्रमुख तिवारी भन्छन्, ‘नागरिकहरुमा कोरोनाप्रति सतर्कता थोरै कम भएको महसुुस भएका छ, जसका कारण चितवनमा संक्रमण बढेको अनुभूति भइरहेको छ ।’

चितवनमा लकडाउन, निषेधाज्ञा अहिले छैन । बजारहरु खुलेका छन् । दसैँको चहलपलह बढिरहेको छ, जसले गर्दा जोखिम अझ बढी हुने चिकित्सक भोजराज अधिकारी बताउँछन् । उनका अनुसार लकडाउन गरेर संक्रमण घट्ने होइन । यसका लागि मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ । भाइरससँगै बाँच्न सिक्नुपर्छ । भाइरस छिट्टै हराउने छैन ।  

चिकित्सकहरुका अनुसार आम मानिसलाई जनस्वास्थका ज्ञान, सीप र चेतना प्रदान भएर पनि यसप्रति कम चासो दिएका छन् । जसका कारण संक्रमण दर उच्च रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा सत्र सय ७३ जना संक्रमित निको भएर घर फर्केका छन् । चितवनको भरतपुर महानगरमा दुई हजार ५७, खैरहनीमा २३५, माडीमा ७३, रत्ननगरमा ४१०, राप्तीमा २१०, कालिकामा ९७, इच्छाकामनामा २० जना कोरोना संक्रमित पुगेका छन् । 

भरतपुर महानगरमा ११ सय २५, खैरहनीमा ११६, माडीमा ५६, रत्ननगरमा २६६, भरतपुर महानगरमा २५, खैरहनी नगरपालिकामा २, रत्ननगरपालिकामा ४, राप्तीमा ५, कालिकामा ३ जना संक्रमितको निधन भइसकेको छ । माडी र इच्छाकामना गाउँपालिकामा हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । चितवनमा होम आइसोलेसनमा ९०३ जना छन् । 

 

प्रतिक्रिया दिनुहोस