महामारीमा आइएमईको कल्याणकारी कदम, ‘भरोसा कोश’ स्थापना

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १८ : २६
महामारीमा आइएमईको कल्याणकारी कदम, ‘भरोसा कोश’ स्थापना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । 

कोशमा २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।’ कम्पनीले आज जारी गरेको आह्वान–पत्रमा उल्लेख गरिएको छ । यस सम्बन्धि विस्तृत जानकारी कम्पनीका आधिकारिक वेभ–साइटहरूमा उपलब्ध हुनेछन् । 

प्रतिक्रिया दिनुहोस