पेपरलेस बन्दै क्यान्सर अस्पताल, अस्पतालको सेवालाई चमत्कारिक सुधार गर्दै निर्देशक गौतम

प्रकाश सिग्देल

सोमबार, २६ असोज २०७७, १७ : ५६
पेपरलेस बन्दै क्यान्सर अस्पताल, अस्पतालको सेवालाई चमत्कारिक सुधार गर्दै निर्देशक गौतम

चितवन । चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न अबदेखि लाइन बस्नु नपर्ने भएको छ । अस्पतालले पेपरलेस प्रविधिको विस्तार गर्दै ई–पेमेन्ट प्रणालीको विकास गरेपछि बिरामीले यस्तो सुविधा पाएका हुन् । अस्पतालले सुरु गरिसकेको यो प्रणाली पूर्ण रुपमा व्यवस्थित हुन भने अझै ६ महिना लाग्ने बताइएको छ ।

अस्पतालका कार्यकारी निर्देशकमा डा. देज कुमार गौतम नियुक्त भएर आएसँगै गौतमले अब पेपरलेस सेवा प्रदान गर्नेतर्फ आफ्नो योजना अगाडि बढाएका हुन् । त्यही अन्तर्गत केही सेवा भने सुरु भइसकेको छ । आफू नियुतm भएर आएसँगै अस्पताललका सबै सेवालाई नियमिति बनाउँदै आफू पनि बँचेर बिरामीलाई पनि कसरी बँचाउने भन्ने ध्यानमा अस्पताल केन्द्रित हुँदै अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै लगेको डा. गौतमले बताए । 

अस्पतालका सबै सेवा छिटोछरितो होस् भन्ने उद्देश्यसहित काम सुरु भइसकेको र केही समयमै त्यसले पूर्णता पाउने डा. गौतम बताउँछन् । ‘अहिले बिरामीले टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने मोवाइलमा अस्पतालको एप्लिकेशन डाउनलोड गरेर घरैबाट टिकट काट्न सकिने गरी प्रवन्ध गरिएको छ’ डा. गौतम भन्छन्, ‘ल्याव रिपोर्टका लागि ई–पेमेन्टमार्फत रकम भुत्तानी गरी टिकट लिन सकिने र ल्याब रिपोर्ट हेर्न हस्पिटलमा गइरहनु नपर्ने, रिपोर्ट स्वतः मोवाइलमा एसएमएस मार्फत पठाउने गरी प्रक्रिया अगाडि बढेको छ ।’ त्यस्तै अस्पतालका सबै सेवालाई डिजिटलाइज गर्न पहिल्यै भएका नेटवर्किङ्गलाई थप व्यवस्थित गरी अब पेपरलेस सेवा प्रदानतर्फ आफूहरु अगाडि बढेको गौतम बताउँछन् । 

विपन्न र बीमा सेवा लिने सेवाग्राहीहरु विगतमा ४ ठाउँमा लाइन बस्नुपर्ने अवस्था रहेकोमा अब एकै ठाउँमा  लाइन बसेर सबै उपचार सेवा लिन मिल्ने गरी सेवा विस्तार गरेकोे उनको भनाइ छ । पहिलेका सेवा सुविधालाई अझै सहज ढंगबाट लिन मिल्ने व्यवस्था गरिएको, इमरजेन्सी सेवालाई सहज बनाइएको र २० वर्ष पुराना मेसिनहरुलाई प्रतिस्थापन गरी नयाँ मेसिनहरुमार्फत उपचार गरिएको उनी बताउँछन् । अस्पतालले सेवा सुविधालाई छिटो र प्रभाकवारी बनाउन केही अत्याधुनिक, हानिकारकरहित मेसिनहरु समेत ल्याउने प्रक्रिया थालनी गरेको उनको भनाइ छ । 

स्वरयन्त्र बिग्रेका, घाँटी भित्र डल्लो पलाएको समस्याको अप्रेसन गर्न  अत्याधुनिक लेजर मेसिन ल्याएर एकै दिनमा एकै छिनमा अप्रेसन गरी भोलिपल्टै घर जान सक्ने गरी उपचार सेवा प्रवाह गर्ने योजनामा आफूहरु रहेको र त्यसका लागि प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । 
त्यस्तै शरीर भित्र इन्डोस्कोपी हालेर भित्रबाट बाहिरको भागमा हेर्ने खालको सबैभन्दा बढी सुविधायुक्त र कम हानिकारक मेसिनहरु ल्याएर बिरामीलाई छिटोछरितो र प्रभावकारी सेवा दिन लागेको उनी बताउँछन् ।

यस्तो मेसिन चितवनमा पहिलो पटक आफूहरुले ल्याउन लागेको उनको भनाइ छ । अहिलेसम्म शरीर बाहिरबाट भित्र हेरेर समस्या पहिचान गर्ने मेसिनहरु मार्फत उपचार हुँदै आएकोमा अब शरीर भित्रबाट बाहिर हेर्ने मेसिन ल्याउन लागेको गौतमले बताए । अबको ६ महिनापछि अस्पताल धेरै फरक र व्यवस्थित रुपबाट सञ्चालन भएको देख्न पाइने उनी बताउँछन् । अस्पतालले मुल गेटदेखि भित्रका अधिकांश ढोकाहरुमा सेन्सर प्रणाली समेत जडान गरिसकेको छ । ती ढोकाहरु स्वचालित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस