कर्णालीमा किचलो

मुख्यमन्त्री शाहीले पदमुक्त गरे प्रमुख सचेतक शाहलाई

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १५ : ३९
मुख्यमन्त्री शाहीले पदमुक्त गरे प्रमुख सचेतक शाहलाई

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेको कर्णाली प्रदेशमा नेकपाका पूर्वएमाले समूह र पूर्वमाओवादी समूहबीच किचलो उत्पन्न भएको छ । 

कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।

पूर्वएमाले समूहका यमलाल कँडेलको अगुवाईमा पूर्वमाओवादी समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएपछि किचलो सुरु भएको हो । आइतबार नै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेपछि पार्टीको आन्तरिक किचलो नयाँ मोडमा पुगेको छ ।

दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ । आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार १ बजेको लागि बैठक बोलाएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन् । शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन् ।

जिम्मेवारीबाट मुक्त भएका शाहले भने बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा दलका नेताको हैसियतमा शाहीले कुनै पनि निर्णय लिन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस