प्रधानमन्त्री ओलीको निर्देशनमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने, ‘तपाईंले जे गर्न लगाउनु भयो, त्यो नितान्त गलत छ’

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १३ : १०
प्रधानमन्त्री ओलीको निर्देशनमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

फाइल फोटो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक तरंग आएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अविश्वास प्रस्ताव दर्ता भएको बताइएको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव प्रकरणलाई लिएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान झण्डै २ घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध ओली निकट यमलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले हिजो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा भित्रको विवाद फेरि बढ्न थालेको छ ।

आजको भेटवार्तामा प्रचण्डले कर्णालीमा संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव तत्काल फिर्ता लिन लगाउन ओलीलाई आग्रह गरेका छन् । सुरुवाती चरणमा आफूले नभनेको बताएका ओलीले कुराकानीको क्रममा आफ्नै निर्देशनमा अविश्वासको प्रस्वाव दर्ता भएको बताएका एक सचिवालय सदस्यले जानकारी दिए ।

भेटवार्तामा प्रचण्डले ओलीलाई तत्काल प्रस्ताव फिर्ता लिएर पार्टी एकताका बाँकी काम टुंगो लगाउन आग्रह गरेका थिए । स्रोतका अनुसार उनले भेटवार्तामा भने, ‘कर्णालीको विषयले बन्दै गरेको पार्टीको एकता फेरि विवादमा पर्ने देखियो । तपाईँले जे गर्न लगाउनु भयो, त्यो नितान्त गलत छ । पार्टी एकताको खिलापमा तपाईँ जानु भयो, यसले राम्रो गर्दैन । त्यसैले तत्काल यो मिलाउनुस् ।’

ओलीले पार्टीभित्रको असन्तुष्टिले त्यस्तो भएको बताएका छन् । उनले भने, ‘त्यहाँ पार्टीभित्र समस्या रहेछ । साथीहरुबीच आलोपालोको कुरा पनि भएको रहेछ । मैले कुरा गर्छु । मिलाएर अगाडि लैजानुपर्छ । यस्ता असन्तुष्टिलाई पनि सम्बोधन गर्नुपर्छ ।’

खुमलटारले पूर्वमाओवादीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएर पार्टी एकता अन्तिम चरणमा पुगेको बेला ओलीले फेरि बखेडा झिक्न खोजेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग मिलेर ओलीलाई अन्य प्रदेशमा पनि जवाफ दिने एक स्थायी कमिटी सदस्यले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस