डा केसीलाई अनसन अन्त्य गर्न वार्ता टोलीको आग्रह

सफल खबर संवाददाता

शनिबार, २४ असोज २०७७, १६ : २६
डा केसीलाई अनसन अन्त्य गर्न वार्ता टोलीको आग्रह

 काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ । सरकारी वार्ताटोलीले आज एक विज्ञप्ति जारी गर्दैै डा. केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको छ । 

असोज २२ र २३ गते भएको वार्तामा सरकारले आफ्नो तर्फबाट डा. केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।चिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ जारी भइसकेको र सो बमोजिम चिकित्सा शिक्षा आयोग गठन भइ एकीकृत प्रवेश परीक्षा सिट निर्धारण, एकीकृत शैक्षिक सत्र, गुणस्तर प्रत्यायन बोर्ड गठन, नेसनल मेडिकल स्पेसियालिटिज बोर्ड गठन, सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रबृत्ति लगायतका नियमन सम्बन्धि व्यवस्था कार्यान्वयनमा आइसकेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो । सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको भन्दै वार्ता टोलीले अनसन अन्त्य गर्न आग्रह गरेको हो । 

अधिकांश मागहरु कार्यान्यवनमा रहेको भन्दै अनसन अन्त्य गर्न टोलीले जोड दिएको हो । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको  छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भइसकेको छ । गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको वार्ता टोलीले भनेका छ, ‘कोभिड १९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गरिदिन हुन प्रा डा गोविन्द केसीलाई वार्ता समिति अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस