के हो ग्याष्ट्रिक र एसिडिटी ? यस्ता छन् बच्ने घरेलु उपाय !

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, ०९ : ३५
के हो ग्याष्ट्रिक र एसिडिटी   ? यस्ता छन् बच्ने  घरेलु उपाय !

के हो त एसिडिटी र ग्याष्ट्रिक ?
एक किसिमको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिकरस निष्कासन गर्छ तर सो रस बढी निष्कासन भयो वा अन्य कुनै कारणले पेटमा बढी एसिड जम्मा भयो भने एसिडिटी (अम्लपित्त) को समस्या देखा पर्छ । 

के हो एसिडिटी र ग्यांस्टिकको कारण ?
एसिडिटी अनुचित आहारविहारका कारण पैदा हुन्छ । धेरै शोक र चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, बेसनका परिकार, फास्टफुड, अचार, धेरै तातो र तैलीय पदार्थहरु सेवन गर्ने, रक्सी–चुरोट–बिँडी पिउने, शारीरिक श्रम तथा व्यायाम नगर्ने, ठीक समयमा सुपाच्य भोजन नगर्ने आदि कारणले एसिडिटीको समस्या देखा पर्छ ।  

जसले पाचन प्र्रणालीलाई प्रभावित पारेर आमाशयस्थित ग्यास्ट्रिक ग्ल्यान्डलाई बढी उत्तेजित बनाई बढी एसिड पैदा गर्न सहयोग गर्छ । अर्को कुरा, मानसिक कारणले नभई गलत आहारविहारका कारण एसिडिटीको समस्या देखा परेको छ भने पनि त्यसले मानसिक समस्याहरु जस्तै– बैचनी, चिन्ता तथा चिडचिडेपन पैदा गर्न सक्छ ।  

के– के हुन एसिडिटी र ग्याष्ट्रिकका लक्षण ? 
एसिडिटी र ग्यांस्टिकका  लक्षणहरु अनेक हुन्छन् । तीमध्ये प्रमुख लक्षणहरु यस प्रकार छन् ।  पेट, छाती र घाँटीमा जलन हुनु ।  अमिलो डकार आउनु ।  कहिलेकाहीँ उल्टी हुनु ।  मुखमा अमिलो र तीतो पानी आउनु ।  अपच हुनु ।  कहिले कब्जियत त कहिले पखाला लाग्नु । शरीर तातो हुनु ।  भोक कम लाग्नु वा बढी लाग्नु ।  टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।  चक्कर लाग्नु ।  बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु ।  राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।  अनेक डरलाग्दा सपना देख्नु ।

 आहार–विहार र घरेलु उपचार ।  बच्ने उपायहरु खाली पेटमा चिया–कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ ।  त्यस्तै नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ ।  एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वे्िदक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् ।

तर आहारविहार (लाइफ स्टाइल) लाई ठीक नगरीकन औषधिले मात्र एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन । त्यसैले एसिडिटीबाट मुक्ति प्राप्त गर्न पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ ।  सुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् ।

जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ ।  खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु सत १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ ।

बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा ग्यांस्टिकको समस्यामा फाइदा गर्छ । एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ ।  सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि ग्यांस्टिकको समस्या न्यून गर्न सकिन्छ । 

के खाने र के नखाने ?
बेसन तथा मैदाका परिकार, कचौडी–पकौडी, जेरी–पुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चिया–कफी, कोल्डड्रिंक, मासको दाल, चना, मुसुरोको दाल, बैगुन, अमिलो–पिरो, चिल्लो, अचार, मसालेदार परिकार, दही आदि पदार्थ नखानु नै बेस हुन्छ । धूमपान, मद्यपान, निकै तातो, बासी पदार्थ, बढी खाना, बेसमयको खाना, हतारमा राम्रोसँग नचबाई खाएको खानाले पनि एसिडिटी बढाउँछ । त्यसैले यसमा परहेज गर्नुपर्छ । खानासँग पानी खाने बानी पनि राम्रो होइन ।

तर एसिडिटीर ग्यांस्टिक भएकाहरुले चोक्करयुक्त आटाको रोटी, रेसादार हरियो सागसब्जी, लौका, परबर, फर्सी, काँक्रो, चौलाई, पालुंगो, अकुंरित अन्न, अनार, किसमिस, मुनक्का, मुगको दाल, गुलियो तथा चिसो पदार्थ, अमला तथा स्याउको मुरब्बा प्रशस्त खाँदा हुन्छ ।  सधैँ शुद्ध र ताजा भोजन गर्ने, ठीक–ठीक समयमा खाना खाने, राम्रोसँग चपाएर खाने बानी बसाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस