जोखिममा परेका महिलासँग मेयर

भरतपुर महानगरका एक सय पैँतीस जना छात्राले पाए साइकल

महानगरभित्रका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी, सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध यही वर्षभित्र

प्रकाश सिग्देल

मंगलबार, २० असोज २०७७, १३ : ४९
भरतपुर महानगरका एक सय पैँतीस जना छात्राले पाए साइकल

चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । 

कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिन्  । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।  

महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् । साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । श्री आधारभुत विद्यालय सुन्दरबस्तीमा कक्षा ४ मा पढ्ने छात्रा लक्ष्मी लामिछानेले महानगरले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनले बताइन् । 

श्री शक्ति आधारभुत विद्यालय राधापुरमा कक्षा ८ मा पढ्ने विद्यार्थी सोनी अधिकारीले साइकल दिएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र महानगर परिवारलाई आभार प्रकट गरिन् । घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने उनी बताउँछिन् । साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने उनको भनाई छ । 

कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाई छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाई छ । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् । 

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर लागेको बताए । 

अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको उनले बताए । महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै ९ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको, केन्द्र र प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उनले बताए ।  महानगर प्रमुख रेनु दाहालको सोचले नै विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण कार्यक्रम सफल भएको उनको भनाई छ । 

कार्यक्रममा बोल्दै महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस