राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन

पत्रपत्रिकाबाट

सोमबार, १९ असोज २०७७, ०८ : ०२
राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको छ ।

उद्योगले विभिन्न किसिमका मसलालगायत खाद्य पदार्थ उत्पादन गरी बजारीकरण गर्दै आएको छ । उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिकिलो ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ ।

कुनै पनि खाद्य वस्तु उत्पादन तथा प्याकेजिङ गरेर बिक्री वितरण गर्न उद्योगले अनिवार्य रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्छ । विभागको स्वीकृतिविना बिक्री वितरण गर्न नपाइने कानुनी प्रावधान छ । तर, राज्यमन्त्री दुगडको उद्योगले विभागबाट अनुज्ञापत्र र विभागको स्वीकृतविना नै बजारमा नुन प्याकेजिङ गरेर बिक्री गरेको पाइएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राज्यमन्त्री दुगडको उद्योगले प्याकेजिङ गरेको सेन्चुरी ब्रान्डको स्प्रिंकलर्स टेबल साल्ट गैरकानुनी तरिकाले उत्पादन तथा प्याकेजिङ गरी कारोबार गरेकामा सो उद्योगमाथि कानुनी कारबाही गर्नुपर्ने बताए । उनले सो ब्रान्डको नुनको बिक्री वितरणमा रोक लगाउन उपभोक्ताबाट गुनासो आएपछि उद्योगको अनुगमन तथा अध्ययन गरेको बताए । अनुगमनका क्रममा उद्योग गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको पाइएको हो ।

उनले भने, ‘दैनिक उपभोग्य वस्तुमध्येको खाद्य नुनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार उत्पादन, सञ्चय बिक्री वितरण गर्ने काम २०२० सालदेखि नै साल्ट टे«डिङ कर्पोरेसनमार्फत मात्र हुँदै आएको छ । यसरी अनधिकृत रूपमा नुनको प्याकेजिङ, सञ्चय तथा बिक्री वितरण गर्नु सिधै प्रचलित कानुनविपरीत कार्य हो ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस