ओली र दाहालको समझदारीमै प्रदेश ५ को नाम र राजधानी तय

पत्रपत्रिकाबाट

शनिबार, १७ असोज २०७७, ०८ : २६
ओली र दाहालको समझदारीमै प्रदेश ५ को नाम र राजधानी तय

बुटवल । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । मन्त्रिपरिषद् बैठकपछि शुक्रबारै प्रदेश सरकारले राजधानी र नामकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेको छ ।

नेकपाका प्रभावशाली केन्द्रीय नेताहरूको तानातानका कारण राजधानी बुटवल कि दाङमा राख्ने भन्ने निर्क्योल गर्न नसकेपछि मुख्यमन्त्री पोखरेलले केन्द्रबाटै समझदारी गर्नुपर्ने धारणा राख्दै आएका थिए । पछिल्लो समय पार्टीको विवाद मिलाउने क्रममा धेरैपटक अध्यक्ष ओली र दाहालसँगको संवादमा बसेका उनले आन्तरिक सहमतिको प्याकेजभित्र आफ्नो प्रदेशको किचलोको विषय पनि छिराएका थिए । जुन विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहाल सहमत भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाका सदस्यहरूलाई समेत ‘सरप्राइज’ दिने गरी राजधानी र नामसम्बन्धी निर्णय गरी सभामा पेस गराएका हुन् ।

यसअघि तत्कालीन प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने विषयमा पनि नेकपाका नेताहरू विभाजित भएपछि अध्यक्षद्वय ओली र दाहालले केन्द्रमा समझदारी गरेर टुंगो लगाइदिएका थिए । प्रदेश ५ को हकमा पनि नेकपाकै नेताहरू विभाजित भएपछि यो विषय ओली र दाहालसम्म पुगेको हो । प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि त्यस क्षेत्रका नेकपाका प्रभावशाली नेताहरू जसरी पनि त्यहीं स्थायी राजधानी बनाउन चाहन्थे । नेकपाका महासचिव विष्णु पौडेलसमेत बुटवलबाट सार्न नहुने पक्षमा थिए । तर नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता दाङतिर राजधानी लैजान चाहन्थे । त्यसका लागि वर्षमान पुन, कृष्णबहादुर महरा, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलगायतका नेताहरूको लबिइङ चलिरहेको थियो । त्यही कारण अध्यक्ष दाहाल पनि दाङकै पक्षमा थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस