चितवन प्रशासनले लगायो यी आठ बुँदामा अनिश्चितकालीन निषेध (विवरणसहित)

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १६ : ११
चितवन प्रशासनले लगायो यी आठ बुँदामा अनिश्चितकालीन निषेध (विवरणसहित)

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेघाज्ञा आज राति १२ बजेबाट सकिँदैछ । प्रशासन कार्यालयले जारी गरेका निषेधाज्ञा सकिएपनि तल उल्लेखित आठ वटा बुँदामा अनिश्चितकालीन रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी अर्को आदेश नभएसम्म तल उल्लेखित बुँदामा रोक लगाइएको जनाएका छन् । यद्यपी विज्ञप्तिमा निषेधाज्ञा शव्द प्रयोग गरिएको छैन । 

आदेशको अवज्ञा हुने गरी रोक लगाइएको स्रोतसाधनहरु परिचालन गरेको खण्डमा कानुनबमोजिम कारबाही हुने चितवन प्रशासनले जनाएको छ । 

निषेध गरिएका कार्यहरु :

१) अनलाइन कक्षालगायतका संक्रमण जोखिम नहुने गरी गरिने गतिविधिबाहेक शैक्षिक संस्था, तालिम प्रशिक्षण, भाषा कक्षा, ट्यूसनलगायतका गतिवधि सञ्चालन गर्न ।

२) परिवारभित्रका न्यूनतम मानिस जम्मा भएर गरिने विवाह, ब्रतबन्ध, नित्यपूजाबाहेकका धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्न ।

३) मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, जात्रा जुलुस गर्न । 

४) सिनेमा हला, जिमखाना, स्वीमिङ पुल, स्पा, फुटसल, पुस्तकालय, व्यूटीपार्लर, सैलुन, दैनिक साप्ताहिक हाटबजार सञ्चालन गर्न ।

५) ठेला,रिक्सालगायत घुम्ती पसलहरुमा पानीपुरी चटपटलगायतका फास्टफुडको व्यापार गर्न ।

६) कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब संकलन गरेका, पिसिआर रिपोर्ट आउन बाँकी रहेका, विदेशबाट आएका तथा अन्य जिल्लाबाट यहाँ आएका मानिसहरुलाई १४ दिनसम्म हिँडडुल गर्न । 

७) कोभिड १९ बाट संक्रमण नहुने भरपर्दो व्यवस्था नगरी कामदार, श्रमिक ओसारपसार उद्योग व्यापार तथा व्यवसाय सञ्चालन र निर्माणसम्बन्धी कार्य गर्न ।

८) स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरी सार्वजनिक यातायात, सरकारी कार्यालय र संघसंस्था सञ्चालन गर्न ।


 

प्रतिक्रिया दिनुहोस