CG Landmark

डायरी चोर्नेले सुन चोर्दैन ?

बुधबार, ०७ असोज २०७७, १४ : ५७
डायरी चोर्नेले सुन चोर्दैन ?

– अनिल शर्मा विरही

‘होटल वन टु सर, म होटल वन, टुबाट असइ... सर’ भनिरहन्थे । झोला हेरें । डीमाई आकारको नलेखेको खाली डायरी थियो । केही वर्षअघि चीन भ्रमणको क्रममा उपहार पाएको । रातो कडा आवरण भएको त्यो डायरी बजारमा किन्न पाइन्न । त्यसमा कविता लेख्ने सोच राखेको थिएँ । झोलामा डायरी नदेखेपछि मुचुल्कामा राखे होला भन्ने प¥यो । पहिलोपटक अदालतमा म्याद थप्न लगिँदा सादा पोशाकको एक जनाको हातमा त्यही डायरी देखें । अर्को दिन बयान लिने टोलीमा सहभागी सइ विश्व सुवेदीले त्यही डायरी लिएर आएका थिए । छलफलको क्रममा मैले ‘त्यो डायरी त मेरोजस्तो छ नि’ भनेपछि इन्स्पेक्टरले ‘सरको डायरी हो ?’ भने । सइले ‘सरको डायरीमा सरकै विषय टिपेको छु’ भन्दै थिए । त्यो मेरो झोलामा हुनुपथ्र्यो वा मुचुल्कामा तर प्रहरीले लग्यो । एउटा डायरीमा मन थाम्न नसकेर चोर्ने प्रहरीले झोलामा सुन, नगद भएको भए के गर्थ्यो ? डायरी चोर्नेले सुन चोर्दैन ?

Yeti Diistillery Tansen Cement box

एक दिन कोठामा सादा पोशाकका एकजना टुप्पीवाल पसे । टुप्पी गर्धनबाट तल झरेको थियो । उनी आधुनिक नारदमुनिजस्ता देखिन्थे । तर, उनले अघिल्लो कोतगार्डको हतियार समातेपछि प्रहरी रहेछन् भन्ने बुझियो । अर्को दिन त्यसरी नै अर्काको प्रवेश भयो । उनको ललाटमा पूर्णचन्द्राकार टिका थियो । कलंकीतिर टीका लगाउँदै, पैसा माग्दै गर्ने मोदीको भाइ आग्रातिरबाट आएछ भन्ने लाग्यो । तर, त्यो पनि प्रहरी नै रहेछ । कोठामा एक जना पत्रकार थिए । मैले प्रश्न गरें, ‘प्रहरी घाँटीदेखि माथि हुन्छ कि तल ?’ उनले भने, ‘प्रहरी छातीदेखि माथि पूरै हुन्छ । नाम, फुली, संगठन, बोली, लोली, सलामी सबै भुँडीमाथि हुन्छन् । छाती तल भ्रष्टाचारी हुन्छ । निम्छराको ढाड सेक्ने बुट हुन्छ । महिला हिंसा गर्ने तन हुन्छ । छातीदेखि तल सबैथोक हुन्छ । केवल कानुन, न्याय र मानवता हुँदैन ।’

पत्रकार साथी गए । कोतगार्ड फेरिए । टेबुलमा बस्दै असइले ‘साला चोर मधिसे’ भन्दै आफ्ना सहकर्मीलाई सराप्न थाले । मैले ‘शर्मा’ लेखेकाले तराईबासीलाई सरापेका होलान् तर मेरो जात, थर कम्युनिष्ट अर्थात् साम्यवादी भएकाले तिनको जातीय धुन्धुकारी चिन्तनको कुनै महत्व थिएन । म बाहुन, मधिसे, जनजाति, दलित आदि अंशको प्रतिनिधि बन्न चाहन्न । समग्र छोडेर अंशको प्रतिनिधि बन्नु पनि छैन ।

जेठ १३ गते । महेन्द्र पुलिस क्लब नामको कसाइखानामा कवि तथा पत्रकार कृष्णसेन इच्छुकको बर्वरतापूर्वक हत्या गरेको दिन थियो । पहिलोपटक जनआस्था साप्ताहिकले ‘सेन खरानी, खड्का बिरामी’ शीर्षकमा समाचार प्रकाशन गरेपछि हामीले थाहा पाएका थियौं । कुनै बेला राजनीतिमा लागेका गृह मन्त्रालयका पियनले पनि श्रद्धाञ्जली दिएछन् । हत्याकाण्डको छानबिन, दोषीलाई कारवाही गर्नतिर तिनीहरूको सरोकार छैन । इच्छुकलाई तिनीहरूले बेच्ने प्रयास गरिरहेका छन् । भियतनाममा अमेरिकी सेनाको बर्बरता र उनीहरूको मानवअधिकारको बहस हेरेर एकजना अमेरिकी विद्वानले ‘यिनीहरूले मानवअधिकारको कुरा गरेको देख्दा मलाई पछिल्तिर फर्केर हाँस्न मन लाग्छ’ भनेका थिए । कुमार पौडेलका हत्याराहरूले, अपहरणकारीले इच्छुकको नाम लिन कसरी सकेका ! ती पियनको अनुहारमा मैले त कुमार पौडेलको रगतको छिर्का देखिरहेको छु ।

एसएलआर, चिनियाँ पेस्तोल र ब्रिटिश कारखानामा बनेको हत्कडीले घेरिएर अस्पतालको बेडमा थिएँ । अविरलले परिवारको तर्फबाट प्रहरीले चितवन जिल्ला अदालतको आदेश कार्यान्वयन नगरेको र रिहा नगरेको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दिएपछि आयोगलाई चितवन प्रहरीले रिहा गरिसकेको जवाफ पठाएको रहेछ । आयोगले ‘प्रहरीले रिहा गरेको जवाफ पठाएको छ । रिहा नगरेको केही प्रमाण छ ?’ फोनमार्फत सोधेछन् । पीडित र पीडकको फरक–फरक दाबी भएपछि अनुसन्धान गर्ने काम आयोगको थियो । राजनीतिको पेचिलो दाउपेच एकजना कलिलो विद्यार्थीलाई के थाहा हुनु र ! सोध्ने कुरा स्वाभाविक होला, अरु कुरा थाहा भएन । साँझ काठमाडौंका एक जना वरिष्ठ पत्रकारसँग यो कुरा भयो । उनले ‘प्रमाण जुटाउने उसको काम हो नि, बच्चालाई सोधेर हुन्छ ? सारा सञ्चारमा आएकै छ’ उनले भनेका थिए । 

अस्पतालरूपी हिरासत बसाइको अन्तिम–अन्तिम दिन थियो । जवान र हवल्दारसँग छलफल भयो । एक जनाले ‘गोरखा भर्ती विषयमा विप्लवको विज्ञप्ति राम्रो लाग्यो, गोर्खा भर्तीमा तलब सुविधा धेरै भएर गएका हुन्, तलब बढाउनुपर्ने माग पनि हुनुपथ्र्यो, ’ भनेका थिए । छलफल चल्दै थियो । प्रहरी जवानका कोरोना भत्ता कटौती गरेर पीसीआर ल्याब स्थापना गर्न खोजेको चर्चाप्रति निकै आक्रोशित देखिन्थे । त्यही क्रममा जनयुद्धको चर्चा भयो । ‘जनयुद्धको समयमा भिडन्त भयो भने उत्पीडक हाकिमतिरै क्रस फायर हुन्थ्यो । त्यसो भएर जवानसँग हाकिम डराउँथे । केही खान मन छ भन्थे, धाप मार्थे । अहिले फेरि हेप्न थालेका छन्’ भनेका थिए । अर्काले ‘विप्लवले फेरि जनयुद्ध शुरु गर्दै छ भन्ने हल्ला चलेको बेला हाकिमहरू हामीप्रति नरम व्यवहार गर्न थालेका थिए । अहिले फेरि शोषण र उत्पीडन उस्तै भएको छ’ भन्दै थिए । कोठामा बोतलको पानी थियो । तिनले ‘जिप्रकामा यो पानीलाई हाकिम साहेबको पानी भनिन्छ, अहिले धेरै भएर हामीलाई पनि दिएका छन्’ भनेका थिए । हाकिम र जवानको एउटै भान्छा गर्ने चर्चा पनि थियो । कोतगार्ड बदलिए । सधैं आफ्नो संगठनका नेतृत्वको विपक्षमा बोल्ने असइ आए । उनले ‘प्रहरी मेरो साथी नारा लगाउने तर कमजोरलाई निचोरेर मार्ने, फटाहाहरू’ भन्न थाले । सामाजिक सञ्जालको कारण प्रहरीमा जनचेतना निकै बढेको र त्यो सरकारको नियन्त्रणमा नरहेको देखिन्थ्यो । कुनै ठूलो विद्रोह भयो भने प्रहरीमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने रहेछ । शासकवर्गको नियन्त्रण कमजोर हुने र जनताको प्रभाव बढ्ने भनेको जनता बलियो हुने प्रक्रिया हो । माक्र्सवादले सत्तालाई कमजोर पार्दैै लगेर अन्तर्राष्ट्रिय गीतमा भनेझैं ‘आफ्नो कर्तव्य आफैंले निर्णय गरी पूरा गर्न’ भन्ने स्तरमा पु¥याउनु पर्दछ । प्रहरीमा सइभन्दा माथिकाले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाउने, तलबको मतलब नहुने र तलकाले घर चलाउन नसकेर तड्पिनु पर्ने अवस्था रहेको छ । यो पनि बारुद छरिएको अवस्था नै हो । तर, यो अलि कडा बारुद भएकाले अलि ढिलो आगो लाग्न सक्छ । 

प्रहरी र चिकित्साकर्मीप्रति जनसमर्थन र सहानुभूति बढेको छ । महामारीको अग्रमोर्चामा उनीहरू भएकाले त्यसो भएको हो । तर, कोरोनाको प्रयोगशाला स्थापनाका लागि उनीहरूको भत्ता कटौती भएको खबरले निराश छन् । ‘हामी बोल्न पाउँदैनौं, बोले ठाडो कारवाही हुन्छ, पुनरावेदन लाग्दैन’ निराश हुँदै पीडा पोख्थे । एकजना हवल्दारले ‘१५ वर्ष भयो, तालिम अवधिमा एकपटक र त्यसपछि एकपटक जुत्ता पाएँ । लुगा, जुत्ता पनि खाइदिन्छन्, बोल्न मिल्दैन’ भन्थे । तर जवानको जुत्ता, पोशाकसमेत खाएको कमिसन नक्साल पुग्दैन ? नपुग्ने भए किन देख्दैन ? अख्तियारले देख्दैन ? सबै बडाहरू मिलेर लुटेका छन् गरिबका छोराछोरीलाई । (जनआस्थाबाट)